भक्तपुर । सूर्यविनायक नगरपालिका–७ गुन्डुका स्थानीयको बारीमा ढकमक्क फूल फुलेको छ । त्यहाँ फूलबारी नभएको घर भेट्नै मुस्किल पर्छ । काठमाडौंका विभिन्न मठमन्दिरमा नारायणपाती, तीतेपातीको सट्टा फूल चढाउन थालेसँगै गुन्डुमा फूल खेती विस्तार भएको हो । गुन्डुका प्रायः सबैले परम्परागत अन्नबाली छोडेर फूल खेती सुरु गरेका हुन् । उनीहरुका अनुसार २०५०/०५१ सालबाट त्यहाँ फूल खेती सुरु भएको हो ।
६७ वर्षीय कैलाश नगरकोटी २०५१ सालबाट फूल खेती गर्दै आएका छन् । अन्न खेती छोडेर फूल खेतीमा लागेको उनले बताए । नेपालमा उत्पादन हुने फूल बिक्रीका लागि सबैभन्दा राम्रो सिजन साउन महिना हो । यस समयमा महादेवको पूजा गरिने भएकाले माग राम्रो भएको हो । तिहारको सिजनमा पनि मनग्ये फूल बिक्री हुने गर्छ । तर बाहिरी देशबाट आयात हुने भएकाले यस वर्ष खासै मूल्य नआएकाले गत वर्षको तुलनामा सस्तोमै बेच्नुपरेको बाध्यता सुनाए नगरकोटीले ।
विगत २२ वर्षदेखि फूल खेती गर्दै आएकी मीरा घिमिरेले मकै, गहुँभन्दा राम्रो आम्दानी हुने भएपछि फूल खेती सुरु गरेको बताइन् । ३ वर्षअघि प्रतिमाला २२/२५ रुपैयाँमा बिक्री गरेको बताउने मीराले गत वर्ष १८ रुपैयाँ प्रतिमाला बेचेकी थिइन् । यस वर्ष त्यसभन्दा पनि घटेर १७ रुपैयाँमा बेच्नुपरेको बताइन् । उनका अनुसार यस वर्ष फूलमा लाग्ने कीराले पनि दुःख दिएको छ ।
मिठु नगरकोटीका अनुसार बजार अभावमा गत वर्ष २ रुपैयाँ प्रतिमालाको दरले बेचेको सुनाए । नगदेबाली भएकाले फाइदा देखिए पनि परिश्रमको हिसाब गर्ने हो भने खासै राम्रो आम्दानी नहुने उनको भनाइ छ । विदेशमा उत्पादित फूल आयातले नेपालमा उत्पादित फूल विस्थापन गरिरहेको उनको ठहर छ ।
बुद्धकुमारी नगरकोटीले ३ रोपनी क्षेत्रफलमा फूल उत्पादन गर्दै आएकी छिन् । अरु परम्परागत बाली लगाउँदा पनि खास आम्दानी नहुने भएपछि उनले फूल खेती रोजिन् । बजार नभए पनि सस्तैमा भए पनि बेच्न समस्या नहुने भएपछि फूल खेतीलाई निरन्तरता दिइरहेको उनले बताइन् । यस वर्षको मखमली राम्रो दाममा बिक्री नहुने चिन्ता रहेको उनले सुनाइन् ।
यस वर्षको तथ्यांक हेर्दा तिहार आयातमै निर्भर छ । फ्लोरिकल्चर नेपालका अनुसार ४ करोड ८० लाख रुपैयाँको सयपत्री फूल मात्र आयात भएको छ ।
तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नु परे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अस्ट्रेलिया र मलेसियामा धेरै नेपाली बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ ।
भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेका अनुसार झिलिमिली विद्युतीय बत्ती, चकलेट, कृत्रिम फूल इत्यादि भारतलगायत अन्य मुलुकबाट आयात हुने गरे पनि प्राकतिक फूल यस वर्ष न्यून मात्र आयात भएको हो । विशेष गरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।
यस व्यवसायबाट नेपालका ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । व्यावसायिक रुपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको फ्लोरिकल्चर नेपालले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०७६