काठमाडौं : कलाकारमाथिको कारवाही तिव्रता भइरहेको भएको बेला चर्चित कलाकार शैलेन्द्र सिम्खडालाई सिस्नुपानीबाट हटाइएको छ । सिस्नोपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्दै आएको व्यङ्ग्यात्मक देउसीभैलो कार्यक्रममा यस पटक शैलेन्द्र सिम्खडा नरहने भएका हुन् ।
व्यंग्यकवि शैलेन्द्र सिम्खडाको प्रस्तुति यसपालि नरहने भएकाले सिस्नुपानी नेपालले हरेक वर्षको तिहारमा आयोजना गर्ने हास्यव्यंग्यात्मक ‘देउसी–भैलो’ यसपाली खल्लो हुने भएको छ । चोटिला व्यंग्य कवितामार्फत लोकप्रियता आर्जन गरेका सिम्खडा पछिल्ला दुई वर्षको देउसीका आकर्षण बनेका थिए ।
यसपालि भने माथिबाट दबाब आएको भन्दै आयोजकले आफूलाई प्रस्तुतिबाट वञ्चित गराएको सिम्खडाले बताए, ‘चार–पाँच वर्षपछि लागेर उहाँहरुले मलाई देउसीमा सहभागी गराउनुभयो । मैले दुई वर्ष प्रस्तुति दिएँ, जसलाई निकै मन पराइएको पनि थियो । यसपालि पनि मैले आफ्नो तयारी गरिसकेको थिएँ । तर उहाँहरुले मलाई नेताहरुले अप्ठ्यारो मानेकाले यो देउसीमा तपाईंलाई समावेश गर्न सकेनौं भनेर पन्छाउनुभयो,’ सिम्खडाले भने ।
सिम्खडाका अनुसार सिस्नुपानी नेपालका अध्यक्ष टंक आचार्यसँग उनले कुरा गरेका थिए । ‘मेरो प्रस्तुति रहेमा नेताहरु नआउने जस्तो भाव व्यक्त गर्दै उहाँले गज्याङगुजुङ कुरा सुनाउनुभयो,’ सिम्खडाले भने, ‘मलाई पन्छाउन उहाँले नेताहरुको बहाना बनाएको हो वा साँच्चिकै दबाब आएको हो दैव जानुन् ।’ आफ्नो प्रस्तुतीमाथि अहिलेसम्म कुनै पनि नेताले असन्तुष्टि प्रकट नगरेको उनले बताए, ‘मैले हास्यव्यंग्य क्षेत्रमा ३७ वर्ष बिताएँ । नेताहरुबाटै दबाब आयो होला भन्नेमा मलाई त्यति विश्वास चाहिँ छैन’ उनले भने ।
सिस्नुपानी नेपालका अध्यक्ष टंक आचार्यले सिम्खडाको प्रस्तुती नराख्न आफूलाई कतैबाट दबाब नआएको प्रष्ट पारे, ‘हामी बाहिरका कलाकारहरुलाई पालैपालो मौका दिने गर्छौं । दुईवटा देउसीमा उहाँले प्रस्तुती दिनुभयो । यसपाली उहाँलाई राखिएको छैन । यो हाम्रो निर्णय हो । अमूक नेताको दबाबमा परेर उहाँलाई हटाएका होइनौं ।’
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६