काठमाडाैं । सूचनाकाे संवाहक कागकाे पूजा गरी यमपञ्चक पर्व सुरु भएकाे छ । यमपञ्चककाे पहिलाे दिन आज यमराजको दूतका रुपमा कागलाई मीठो खान दिएर पूजा गरी मनाइँदै छ ।
कात्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै सुरु भएको छ । शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक सुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।
बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताए ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको धार्मिक विश्वास रहेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६