असंलग्न आन्दोलन (नाम) को यहाँ जारी १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्य्रक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार बाकु कन्भेन्सन सेन्टरमा भेटवार्ता भएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ३ वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए । उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो ।
शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि भेटवार्ता भयो । सो अवसरमा उनीहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो ।
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरे । नाम सम्मेलन शुक्रबार नै राजधानी बाकुको बाकु कन्भेन्सन सेन्टरको अडिटोरियममा सुरु भएको हो ।
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६