स्वस्थानीको सांगे छ छिमेकमा । आफूलाई भने फुर्सद निकाल्नै गाह्रो । सबै भन्छन्, खुब जागिरे भा’की, यस्सो मिलाउनू नि !
घरका मान्छे पूजाका सरसामान जुटाउँदै थिए । आफन्त र छिमेकीहरू खानपिनको व्यवस्था गर्न जुटेका थिए । म पनि काउली काट्ने ठाउँमा गएर मिसिएँ । गाउँमा प्रायः सबैको सधैं भेट भएकै हुन्छ । त्यसैले भेट्दा खबर सोधपुछ खासै हुँदैन । म चलिरहेको गफमा घुलिएँ । त्यहाँ प्रायःको चिनजान भइसकेको रहेछ । मलाई नचिन्ने एउटी दिदीले सोधिहालिन्, अनि बहिनीको चैं घर कुन हो नि ?
मैले चोर औंलाको इशाराले देखाएँ, ऊ त्यो हो ।
अनि को–को हुनुन्छ घरमा ?
मलाई लगभग नबोली उठेर हिँड्न मन लागेको थियो । भनें, सप्पैजना छौं ।
तिनलाई चुप लागाउने उपाय आखिर काम लागेन । फेरि सोधिन्, सासू–ससुरा पनि हुनुहुन्छ ?
हजुर ।
अनि कतिजना नानीहरू ?
दुई जना ।
के–के ?
छोरा र छोरी ।
अनि श्रीमान् चैं कता हुनुन्छ ?
मलाई आफ्नो बारेमा मान्छेले चासो देखायो कि पारो चढेर आइहाल्छ । त्यसमा पनि लोग्नेको कुरा ! म उठेर अर्काेतिर लागें ।
यो प्रश्न जति सरल छ, मेरा लागि त्यत्तिकै कठिन पनि । पढ्दै नपढी परीक्षा दिन जाँदा जस्तो । तर, यहाँ त प्रश्न उही छ निरन्तर ।
परीक्षामा खुसुक्क साथीले उत्तर भनिदिएजस्तो माख्लो घरकी दिदीले उनको कानैमा खुस्खुसाइन्, महाको जँड्याहा छ । कतिपल्ट सुधार केन्द्र राखिसके, उस्तै । विचरीको बिजोग छ ।
उफ् ! कुरा काट्नेले पनि नसुन्ने गरी काट्नू नि ! म सुनेको नसुन्यै भएँ । जसोतसो बहाना बनाएर त्यहाँबाट उम्किएँ ।
आइमाईलाई किन अर्काको बारेमा नालिबेली थाहा पाउन मन लाग्छ ? मैले बुझ्न सकेकी छैन । हुन त गाउँघरभन्दा पर नदेखेका, नबुझेका मान्छेले गरून् पनि अरू के कुरा ? तिनेर्को ‘विचरा’ तिनैलाई फर्काइदिएँ । मन अलि शान्त भयो ।
बल्लतल्ल आफ्नो लागि, छोराछोरीको लागि सपना देख्न थालेकी छु । मैले हार खाएकी छैन । जीवनलाई परिस्थितिअनुकूल समायोजन गर्दै हिँडिरहेकी छु । आफ्नो जिम्मेवारी बहन गरिरहेकी छु । अधिकारबारे पनि सचेत छु । ठूलो दुस्साहस गरेर कहिलेकाहीँ विगत चियाउँछु । कति निर्ममतापूर्वक मरेर बाँचेकी हुँ । झन् शक्तिशाली भएको अनुभूति गर्छु । तर, एउटै प्रश्नले मलाई भुइँमा पछारिदिन्छ, अनि श्रीमान् ?
लाग्छ— मेरो जिन्दगीको यही अन्तिम लडाइँ हो । यो प्रश्नलाई जितेको दिन म विजेता हुनेछु ।
० ० ०
आज काममा पटक्कै मन लागेन । बिहानको कुराले बारम्बार मनमा उथलपुथल मच्चाइरह्यो । टाउको दुखेको निहुँ गरेर अफिसबाट बिदा लिएँ । बाहिर निस्किएँ । घर जान मन लागेन । जानुपर्ने फेरि त्यही पूजामा हो । सफारी चढें ।
कहाँ जाने ?
चालकलाई भनें, सतासी ।
झिलझिलेबाट माथि सतासीको मन्दिर छ । मन्दिरदेखि पर छाँगो झर्ने ठाउँमा गएर बसें । मान्छेभन्दा रुख, झरना, ढुंगा, माटो कति प्यारा भए । कुनै दिन त यी पनि प्यारा थिएनन् । एकछिन ध्यान गरें । आज मलाई आफूले लुकाएर राखेको विगतको पोकोलाई पूरै उधार्न मन लाग्यो । कहाँ के–के गल्ती भए ? जति अघि बढ्न खोज्छु, उति–उति किन त्यही विगततिर धकेलिन्छु ? के म आफूले जितें भनेको लोग्नेबाट भागिरहेकी त छैन ?
११ मा पढ्दै थिएँ । पहिलोपटक मलाई हेर्न घरमा मान्छे आए । अग्लो, गोरो, एकदमै हेन्सम केटा । मनमा काउकुती लाग्यो । सँगै निराशा पनि । म थिएँ ठीक विपरीत । विपरीत नै त हैन किनकि म त्यति नराम्री पनि छैन । तर, उचाइले धोका दिएको चैं हो । काली छु । मनपराउनेहरूले ‘काली काली दिलवाली’ भन्थे । सोचें— यस्तो राम्रो केटाले के मन पराउला मलाई !
अचम्म ! मन परायो । अब घरमा बिहेको चर्चा चल्न थाल्यो । हिरोजस्तो राम्रो केटो ! सम्पन्न परिवार ! एउटै छोरो । ओहो ! सुखैसुख । पढाउँछु पनि भनेका छन् । पहिलोपटक हेर्न आएको केटासँग बिहा गर्ने छोरीमान्छे भाग्यमानी हुन्छन् अरे ! गाउँलेले पनि भन्न थाले, रीता त कति भाग्यमानी रै’छे ! म पनि गजक्क परें । बेहुली जो बन्दै थिएँ ।
बिहेकै रात उसले भन्यो, मैले तिमीलाई देख्नेबित्तिकै मन पराको ।
मन खुशीले गदगद भयो । बूढापाकाको भनाइ ठीकै रहेछ । म साँच्चै भाग्यमानी थिएँ ।
मैतालु फर्काएर घर आएको रात उसले भन्यो, म तिमीलाई धेरै माया गर्छु । मलाई छोडेर तिमी माइत नजाऊ है ।
मैले यति माया गर्ने लोग्ने पाएकी छु, किन लखरलखर माइत गइरहनू ? आखिर माइतमा पनि त दुःख छ । बल्ल एउटा बोझ घटेकी छु— बाबुआमाको । मैले उसै गरें । ऊ बुवा–आमासँग निहुँ खोज्थ्यो । मलाई सबैले देख्ने गरी घरमा अँगालो हाल्थ्यो । मेरो कपाल खेलाइरहन्थ्यो । हात मुसारिरन्थ्यो । मलाई अप्ठ्यारो लाग्थ्यो । मान्छेको अगाडि त यसो नगर्नू नि ! तर, उसलाई कसरी भन्नु ? बुवा–आमा आफैं तर्किनुहुन्थ्यो । आऽऽ यस्तै होला भनें । मलाई बूढोले कत्ति माया गर्छ ! सोचेर मख्ख भएँ ।
मेरो माइती र घर खासै टाढा होइन । जम्मा १० किलोमिटर हो । तर, बिहे गरेको तीन महिना भइसक्यो, म माइत गएकी थिइनँ मैतालु फर्काएदेखि । उताबाट आमाले पनि सोधेको सोध्यै गर्न थाल्नुभएको थियो, कहिले आउँछेस् ? म टारिरहन्थें । बूढोसँग सोध्यो— कहिले फकाउने, कहिले रिसाउने गथ्र्यो । माइत जाने कुरा गर्नै हुन्नथ्यो । बल्लतल्ल आमाले उसैलाई फोन गरिरहेपछि भने गयौं ।
माइतीमा हामी ६ वटी छोरी । म साइँली । अरु तीनवटी बहिनीहरू थिए । घर सानो थियो, परिवार ठूलो । हजुरबा–आमा पनि हुनुन्थ्यो । ज्वाइँ सुत्ने कोठा बीचको थियो । हामी दिदीबहिनी अर्को कोठाको भुइँमा सुतेका थियौं । राति मेरो मोबाइलमा छुस्स मिस्डकल आयो । हेरें, बूढाको म्यासेज आएको रहेछ, बूढी, बाहिर आऊ न एकछिन । आई लभ यु ।
बहिनीहरू भर्खरै निदाएका छन् । ब्युँझिए कि ? फोन बजेको पो सुने कि ? डर लाग्यो । यस्सो हेरें, निदाइसकेका रहेछन् । सिरकभित्र गुटमुटिएर रिप्लाई गरें, आई लभ यु टु बूढो । बहिनीहरूले थाहा पाउँछन्, भोलि सँगै भइहाल्छौं नि । बाई । लभ यु ।
फेरि म्यासेज आयो, खुरुक्क आऊ, नत्र म आउँछु ।
मेरो मुटु यस्तरी धड्किरहेको थियो कि लाग्यो— त्यसको आवाजले घरका सबैको निद्रा बिथोलिनेछ । म थरथरी काँप्न थालें । के गर्नु ? के भन्नु ? दिमाग शून्य भयो । व्याकुल मनले भारी खुट्टा बाहिरतिर घिसार्यो । मेरो ओठ काँपिरहेको थियो । जिब्रो लर्बरिएको थियो । भनें, पिसाब फेर्न जान्छु ।
ऊ मेरो पछिपछि आयो । लगभग मेरो हंशले ठाउँ छोडेको थियो । टाडे घर अलि ठूलो हाच्छिउँ गर्दा पनि हल्लिएको जस्तो लाग्थ्यो । म बिरालोको चालले सिँढी ओर्लिएँ ताकि घरकाले थाहा नपाऊन् । पिसाब फेरेर माथि जान लाग्दा उसले हात कसेर पकड्यो । भन्यो, सँगै सुतौं । मलाई एक्लै निद्रा लागेन ।
मैले सम्झाउन खोजें, के भन्नुभएको ? एक रात त हो । घरमा थाहा पाउनुभयो भने कसरी मुख देखाउनु ?
केको लाज ? बिहे गरेको नै बूढाबूढी सँगै सुत्नलाई त हो नि । मलाई लाजसाज लाग्दैन । तिमीलाई लाग्छ भने यहीँ सुतुम् ।
यति भनेर उसले लगभग घिसार्दै मलाई वस्तुको थलामा पुर्यायो । पल्लोपट्टि गाईवस्तु थिए, वल्लोपट्टि सानो चेप थियो । गाईवस्तुले खाँदा झारेको परालमाथि हाम्रो ओछ्यान भयो । मन लागुन्जेल उसले मलाई त्यहीँ गिजोल्योे । यसअघि यही गिजोल्याइलाई म माया गरेको ठान्थें । उसको एकोहोरो हठलाई नै आफ्नो आनन्द मान्थें । लोग्नेबाट पाउने सुख कस्तो हुन्छ, कस्तो हुनुपर्छ— मलाई केही थाहा थिएन । लाग्यो— यौन आनन्द पाउने अधिकार लोग्नेको मात्र रै’छ । हाम्रो त पीडा सहनेमात्रै । यतिबेला मलाई आफ्नो जिन्दगी गोठमा बाँधेको भैसीभन्दा पनि गएगुज्रेको लाग्यो ।
बडो कठिनले सावधानीका साथ म बहिनीहरूको छेउमा गएर सुतें । निद्रा एक झमक पनि परेन । मनमा सुनामी उर्लिएको थियो । त्यो आँखाबाट रातभर बगिरह्यो । बाँकी रात मुखमा सिरक कोच्याएर असह्य हिक्काहरूलाई रोक्दै बित्यो ।
बिहान अबेरसम्म उठिनँ । घरमा सबैलाई थाहा भयो कि ? के सोच्नुभयो होला ८० काटेका हजुरबुबा–आमाले ? बुवाआमाले के ठान्नुभयो होला ? दिदीहरू घर आउँदा खै कहिले राति उठेर एक्लै बाहिर गएको थाहा पाइनँ । मलाई बहिनीहरूले के भन्छन् होला ? मनमा यिनै कुरा खेलिरहे । मैले आफूलाई कुख्यात अपराधीझैं महसुस गरें ।
आमाले सोध्नुभयो, के भयो ? यस्बेला उठेर पनि आँखा राताराता देख्छु त !
मैले यत्तिकै टारें । काइँली बहिनीले छेड हान्न थाली । आमाले नबुझ्ने गरी भनी, अब कहाँ निद्रा लाग्छ त एक्लै !
मैले हप्काएँ, जेसुकै नबोल् है ।
मभन्दा ठीक एक वर्ष कान्छी हो ऊ । हामी सँगै पढेका साथीजस्तै छौं । उसले सोधी, भन् न, बिहे गरेपछि कस्तो हुन्छ ? भिनाजुले कति माया गर्नुहुन्छ ? खुब रमाइलो हुन्छ होला है ? तिमेरको त घर पनि बजारमै छ । तँ त अब शहरिया भैस् । धनी भैस् । तेहीभर यता पनि आउँदिनस् ।
मलाई उसका कुराले नदेखिने ठाउँमा घोचिरहे । पहिला हामीबीच गोप्य भन्ने केही हुन्नथ्यो । अब कसरी भन्नु उसलाई कि बिहेपछि कस्तो हुन्छ भनेर ! भनें, बिहे गर् न अनि थाहा पाउछेस् ।
अर्को मन ढुक्क भएँ । धन्न रातिको कुरा थाहा पाएकी रहिनछ । हामी दिउँसो घर फर्कियौं ।
घरमा सासू–ससुरा र हामी दुई जोइपोइ थियौं । सानो किराना पसल थियो । ससुरा नजिकैको स्कुलमा पढाउनु हुन्थ्यो । सब्जी खाने थोरै बारी थियो । बस्— घर यत्तिले चलेको थियो । मलाई माइतमा भन्दा सुख थियो । सुख यसकारण कि खेतको धूलो–हिलोमा काम गर्नु पर्दैनथ्यो । मल बोक्नु पर्दैनथ्यो । अर्काकोमा खेताला जानु पर्दैनथ्यो । तर, मैले पिठ्यूँमा बोक्ने मलको भन्दा कता हो कता गह्रौं भारी मनमा बोक्नु परेको थियो, जो कसैले देख्दैनथे ।
उसले हरेक रात झनभन्दा झन् बढी दुःख दिन थालेको थियो । पहिला त थोरैथोरै रक्सी खाएर आउँथ्यो । शुरुमै ‘सरी’ भनेर माफी माग्थ्यो । अनि म पनि यस्तै त होला नि भन्ने सोच्थें । बाबुआमाले प्याउलाएर हुर्काएको एक्लो छोरो । माया गरेरै एकदिन यो कुलतबाट छुटाउँछु भन्ने लाग्थ्यो । मैले विरोध गरें भने झन् बिग्रिने पो हो कि ? त्यही डरले जे गरे पनि सहन्थें । रक्सी खाएको बेला उसको प्यास हत्तपत्त मेटिँदैनथ्यो । म रोएर सहन्थें । के सबै छोरीमान्छेलाई उनका लोग्नेले यसै गर्छन् ? कसलाई सोध्नु र यस्तो कुरा ?
उसको विदेश जाने लगभग निश्चित भयो ।
बिहे गरेको नयाँ–नयाँमा गाह्रो हुन्छ होला है रीता ? हामी त बानी पर्यौं, छिमेकी दिदीहरू जिस्काउँथे । म पनि होझैं गर्थें तर मनमा भने बूढो विदेश जाने कुराले औधी खुशी लागेको थियो । मेरो दुःखजस्तै खुशी पनि देखाउन नमिल्ने खालको थियो । अप्ठ्यारो ठाउँको पिलोजस्तै । बिहे गरेको पाँच महिनापछि ऊ विदेश गयो । बल्ल मलाई अलि ढुक्क भयो । बूढो घरमा हुँदा जतिबेलै उसैसँग बस्नुपथ्र्यो । शायद यसैले होला— घरमा सासू–ससुरासँग पनि खासै घुलमिल भएकी थिइनँ । छिमेकी पनि धेरै चिन्दिनथें । बल्ल त म फुर्सदिली भएकी थिएँ । छिमेकी साथीहरू जिस्काउँथे, ओहो ! गाउँ हिन्न थालेकी ?
तिनका नि बूढा बिदेसिएका । लोग्नेका कुरा गर्थे, छिल्लिन्थे, कत्ति याद आउँछ नि के गर्नु, एक्लै नहुने ।
अर्कीले थप्थिन्, आऽऽ एकछिन त हो नि, मजा हुनै नपाई सकिहाल्छ ।
मजा ? यो त मलाई थाहै छैन । म त खुशी छु लोग्ने नहुँदा । कसरी सुनाउनु यस्तो कुरा ? उनीहरू उक्साउँथे । म लजाएझैं गर्थें ।
जिउ गह्रौं भएजस्तो लाग्न थालेको थियो । ऊ गएको दुई महिनापछि थाहा भयो— म आमा बन्ने भएछु । घरमा अब मैले पाउने माया पनि दोब्बर भयो, मेरो जिउजस्तै । यतिबेला बूढो सँगै भइदिएको भए ? अकस्मात् लोग्नेको अभाव खड्किएको आभास भयो । यतिका दिन मलाई ऊ नहुँदा ढुक्क लागेको थियो । कस्ती निष्ठुरी म ? आफैंसग रिस उठ्यो । राति अलि बढी दुःख दिने त हो नत्र त भगवान् हो नि मेरो बूढो ! मनको कुनै कुनामा खल्लो भयो । मैले जाबो यत्ति कारणले बूढालाई पूरै माया दिन सकिनँ कि ? आफैंसग रिस उठ्यो । अब त ऊ मेरो लोग्नेमात्रै हैन, मेरो सन्तानको बाबु पनि हो । मनमा ऊप्रति प्रेमको भेल उर्लिरहेथ्यो । उसैको फोन आयो । खुशीले एकै सासमा सुनाएँ ऊ बाबु बन्ने कुरा । ऊ पनि खुशी भयो । आज गफ गर्ने समय पनि कति चाँडो सकिएजस्तो लाग्यो ।
म महिनैपिच्छे माइत जान्थें । सब ठीक चलिरहेको थियो । जिन्दगी रमाइलोसँग बितिरहेको थियो ।
मेरो ९ महिना चल्दै थियो । ऊ पनि ‘तिमीलाई हेर्न मन लाग्यो, बच्चा पनि हुने बेला भयो, यहाँ काम पनि राम्रो छैन’ भनेर आउने भयो । सबैभन्दा बढी बूढाको साथ चाहिने बेला पनि त यही थियो । मेरो खुशीले सीमा नाघ्यो । जेहोस्, अन्तिम समयमा भए पनि लोग्नेको साथ पाउने भएँ ।
मनमा बेग्लै आनन्द छायो । योबीचमा कति सम्झिएँ, कति एक्लो मससुस भयो । फोनमा भन्न साध्धे नभएका कुरा सबै भन्नु थियो । पेट कस्तो भारी हुन्छ, भित्र बच्चा खेल्दा कस्तो महसुस हुन्छ, छोरा होला कि छोरी, नाम के राख्ने— कत्ति थिए भन्ने कुरा । कहाँबाट शुरु गरूँ ? अलमलिएकी थिएँ । सोचें— उसैले शुरु गरे हुने । उसले पहिलाझैं कसेर हात समाउन थाल्यो । कपाल खेलाउन थाल्यो । म्वाइ खायो शरीरभरि । अनि आफू लोग्ने भएको कर्तव्य पूरा गर्यो । मानौं उसलाई आफू १५ दिनपछि बाबु बन्दैछु भन्ने कुरा थाहै छैन । ऊसँग भावना भन्ने कुरै छैन । मात्र एउटा चिज छ टाङमा झुन्डिएको र ऊ त्यसैद्वारा सञ्चालित छ । म चेत हराएजस्ती भएँ । अघिसम्मको त्यो खुशी, त्यो उत्साह असिनासरि एकछिनमा बिलायो । भोलिपल्ट ऐना हेर्दा मैले आफूलाई गहिरो इनारमा देखिने छायाजस्तै पाएँ । अँध्यायो ! डरलाग्दो !
बूढाले मलाई यसरी माया गर्यो कि डाक्टरले भनेको भन्दा पाँच दिनअगावै मलाई अस्पताल लगियो । रगत धेरै बगेर बेहोस भएपछि मलाई राति नै पुर्याइएछ । अवस्था नाजुक भएकोले दुई दिनपछि मेरो अपरेसन गरियो । मैले छोरी पाएँ ।
घरमा आमा–बुवाले राम्रो ख्याल राख्नुभयो । चाहना त थियो होला— नाति होस् तर नातिनी भएकोमा दुःख मान्नुभएन । अथवा भनौं देखाउनुभएन । तर, आफ्नो भन्ने मान्छेको भने पूरै वेवास्ता । छोरीलाई हेरेर एकदिन हाँसेको देखिनँ । बोक्ने त कुरै छोडौं । बरु घर राति अबेर आउन थाल्यो । रक्सीको मात्रा पहिलाको भन्दा झन्–झन् बढेको थियो । म २० दिनकी सुत्केरी थिएँ । ऊ आयो ओछ्यानमा । म नानीलाई दूध चुसाउँदै थिएँ । यस्सो काम देखाएर नानी बोक्न दिएँ— कतै माया पलाइहाल्छ कि भनेर । उसले थपक्क नानी पल्लो खाटमा राख्यो । भन्यो, अब त निकी भैस् होला त !
अपरेसन गरेको शरीर कति काटेको छ भनेर कहिल्यै हेरेन । कति पीडा हुन्छ आमा बन्दा भनेर एकपल्ट पनि सोधेन । आफ्नै सन्तानलाई बाबुले पूरै बेवास्ता गर्दा आमालाई कहाँ–कहाँ पोल्छ भनेर बुझेन । यत्ति बुझ्यो कि ऊ मेरो लोग्ने हो । जे मन लाग्छ, त्यही गर्न सक्छ बस् । मेरो रगत आउन भर्खर बन्द भएको थियो । घाउ निको भइसकेकै थिएन । तर, योभन्दा ठूलो कुरा लोग्नेको प्यास थियो । स्वास्नी हुनुको जिम्मेवारी थियो । म पीडा खप्न नसकेर छट्पटाइरहेकी थिएँ । रगतको आहालमा डुबेकी थिएँ । उता छोरी रुन थालेकी थिई । तर, उसको तिर्खा बुझेको थिएन । म असह्य भएपछि ग्वाँग्वाँ रुन थाले । अब उसलाई मजा आउन छोडेछ । मेरो मुखमा नानीका थाङ्ना कोच्याइदियो र कुट्न थाल्यो । कुटेर थाकेपछि ऊ निदायो । म नानीसँग गएर सुतें । मैले के गर्ने, केही सोच्न सकिनँ । छोरीको अनुहार हेरें, आँसु आफैं बगिरह्यो । मसँग आँसु पुछ्ने शक्तिसम्म थिएन ।
भोलिपल्ट घरबाट आमाले फोन गर्नुभयो । मलाई भक्कानो छोडेर रुन मन लागेको थियोे । तर, रुनु हुँदैनथ्यो । माइतमा दुःख देखाउनु हुँदैन छोरीले । एकछिनमा गर्छु भनेर फोन काटें । ढोका थुनेर बेस्मारी रोएँ । पहिले माइतमा हुदा हामी गरिब छौं, त्यही भएर दुःखी हौं जस्तो लाग्थ्यो । अहिले बुझें— दुःखी हुनु भनेको के हो ! निरुपाय दुःख । बुझेर के गर्नु ! अब त सब सकियो । आखिर सन्तानको लागि त दयालु हुन नसक्ने लोग्नेबाट के आश गर्नु मैले ?
मलाई अब रात पर्नासाथ डर लाग्न थाल्थ्यो । उसको दैनिकी बनेको थियो— अबेर घर आउने, खाना नखाने र राति जबर्जस्ती गर्ने । म रुन्थें । कराउँथें । फकाउन खोज्थें । उसलाई एउटै कुराको ध्याउन्न थियो— आफ्नो प्यास । शारीरिक त थियो थियो, अब त मलाई मनसिक रूपमा समेत तड्पाउन थाल्यो । पहिला पनि गाइँगुइँ त सुनेकी थिएँ तर सोध्ने हिम्मत गर्न सकेकी थिइनँ । अब त आफैं भन्न थाल्यो, त्यो पनि शानले, आज यस्ती केटीसँग सुतेर आएँ ।
भोलिपल्ट केटीका फोटा देखायो । अर्को दिन भिडियो गरेर ल्याएछ, आज यी यस्सरी गरें ।
ठूलो पुरुषार्थ गरेझैं सुनाउँथ्यो । मैले हेर्न नखोज्दा पनि धर पाइनँ । मेरो मनैदेखि कोक्याएर आयो । तर, त्यति पीडा दिएरमात्रै उसको मन भरिएन । फेरि मन भर्न पोखियो ममाथि । उफ् ! जुनी पनि कस्तो लिएर आएछु ! मलाई मर्नुभन्दा अरू विकल्प सुझेन । मैले मर्ने निश्चय गरें । लोग्ने घुर्न थालेको थियो । छोरी निदाएकी थिई । त्यतिबेला मैले केही सोचिनँ मृत्युशिवाय । तल गएँ । भान्सामा मुसाको दबाई थियो । खोज्न थालें । लाइन गयो । लाइट नलिई झरेकी थिएँ । मोबाइल लिन माथि गएँ । नानी रोइरहेकी रहिछ । बोकेर दूध चुसाउन थालें । उसलाई छुँदैमात्र पनि मलाई भित्रैसम्म न्यानो महसुस भयो । उसको शरीरबाट आइरहेको गनाउने बासना, निर्दोष अनुहार ! म यो के गर्न लागेकी थिएँ ? मैले आफूलाई फेरि अर्कोपटक अपराधी ठानें । योभन्दा लाख कष्ट सहेर पनि छोरीका लागि बाँच्नुपर्छ भन्ने लाग्यो । अब कम्तीमा खुशी हुने साथी त थिई । बल्लतल्ल माइतबाट लिन आउनुभयो । एक महिनाकी भएपछि म माइत गएँ । मेरो जिउ, मेरो अनुहार हेरेर सबै छक्क परे । मैले धेरै रगत बगेकाले कमजोर भएर हो भनें । माइत गएको १५ दिन भएको थियो । नानीको न्यास्रो लाग्यो भनेर ऊ त्यहीँ आयो । बेलुका बहिनीले सुत्ने ठाउँ देखाइदिई । ऊ थपक्क मेरो ओछ्यानमा आएर बस्यो । नानीसँग गफ गरेजस्तो गर्यो । त्यहाँबाट चटपटाएन । मलाई मर्नुजस्तो भयो । लाजले । घिनले । आजसम्म त माइतमा केही थाहा थिएन । जति पीडा खप्नु थियो, खपेकै थिएँ । अब के ठान्नुहुन्छ होला ? मलाई लोग्नेले दिएको भन्दा ठूलो पीडा यसले दिन्थ्यो । ऊ तीन दिन बस्यो । तीनै दिन मेरै छेउमा, मेरै ओछ्यानमा मात्रै । बहिनीहरू पनि ऊसँग तर्किन थालेका थिए । उसले ससुरालीबाट ज्वाइँको सम्मान गुमाएको थियो । गाउँलेले खिल्ली उडाउँथे, रीताको बूढोले त सुत्केरी हुँदा पनि छोड्दैन रछ !
यसले के फरक पर्छ ? उसलाई फरक पर्ने कुरा एउटै थियो— जुन उसको टाङमुनि थियो । उसले यी तीन दिन खुब माया देखायो, म एक्लै हुन्छु, घर आइहाल है । अब म दुःख दिन्नँ । तिमिलाई माया गर्छु ।
ऊ घर गएको दुई–तीन दिनपछि ‘आजै आइज, भोलि नै आइज’ भनेर बोलाउन थाल्यो । आखिर घर त जानु नै थियो । मलाई पनि झिनो आश थियो— साँच्चै सुध्रियो कि ! गएँ । नभन्दै उसले रक्सी खाएको थिएन । घरमै बस्थ्यो । काम सघाउँथ्यो । रक्सी नखाँदा उसले राति पनि दुःख दिदैनथ्यो । मलाई धेरै केही चाहिएको पनि थिएन । यो नै मेरा लागि जीवनको सर्वोत्तम सुख थियो, जुन सुख जीवनमा साह्रै थोरै मात्रै पाएँ । यत्तिकैमा ऊ फेरि विदेश गयो । विदेश गएको केही समयसम्म त राम्ररी नै कुरा गथ्र्यो । पछिपछि भने मानसिक रूपमा झन्–झन् सताउन थाल्यो । अनेकौं केटीका फोटा पठाएर सोध्थ्यो,े कुन राम्री छ ? सौता छान् !
कहिले भिडियो पठाउँथ्यो, तँभन्दा हजार गुना राम्रा केटी साथी छन् मेरा । तँ माइत जा कि त पोइला जा, म अर्की लिएर आउँछु ।
उसले भनेजस्तो गर्न त के— म सोच्न पनि सक्दिनथें । माइत कसरी जानू ? बल्लतल्ल बाबु–आमाको दुःख घटेको थियो । काइँली र अन्तरी बहिनीको पनि बिहे भइसकेको थियो । म कुन मुखले फेरि थपिन जानू ? अब त छोरी पनि छे । पोइला जानेबारे त झन् कल्पना पनि गर्न सक्दिनँ । समाजले के भन्छ ? आफ्नै बाबु–आमाले पनि स्वीकार्दैनन् । बरु जस्तो भए पनि आफ्नो लोग्नेसँगै त छु । चाहे लोग्ने राक्षस नै किन नहोस् ।
० ० ०
बजारमा नयाँ सहकारी खुलेको थियो । ससुरा बुवाले कुरा गर्दिनुभएछ । मैले फिल्डमा डुल्नुपर्ने काम पाएँ । गाउँमा समूह बनाउने, बचत गर्न लगाउने, ऋृण दिने आदि काम गर्नुपथ्र्यो । शुरुशुरुमा निक्कै गाह्रो भयो मान्छेलाई बुझाउन । पछि बानी पर्दै गएँ । आत्मनिर्भर भएपछि बूढोसँग बोल्न पनि अलि आँट आउँदो रै’छ । अब त म उसलाई जवाफ फर्काउन थालेकी थिएँ । त्यसैले होला— अब मलाई डुलेर बिग्रेकी भन्न थाल्यो । को–कोसँग सुत्छेस् ? ठाडै सोध्थ्यो । उसले दिने दुःख, मानसिक तनाव उस्तै थियो । तर, मेरो दैनिकी बदलिएको थियो । छोरी हुर्किंदै थिई । म जागिर खाँदै थिएँ ।
दुई वर्षपछि ऊ घर आयो । दिन रमाइलोसँगै बित्दै थियो । लाग्यो— अबचैं सुध्रिएछ । तर, बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखे पनि जस्ताको तस्तै । फेरि उसका हर्कत शुरु भए । एकातिर कामको तनाव थियो, अर्कोतिर लोग्नेको । अब त झन् गाँजा पनि खान थालेको थियो । उसले मलाई दिने पीडा पनि झन् थपिएको थियो । यतिन्जेल एक्लै सहेको पीडा अब त छोप्ने–टाल्ने ठाउँसम्म थिएन । बिस्तारै झन्–झन् उघ्रिँदै गयो । घरमा सासू–ससुराले पनि सम्झाउन नखोजेका होइनन् । तर, ऊ बाबु–आमालाई पनि देख्न सक्दैनथ्यो । छिमेकी भन्थे, बाबुआमाले तह लगाउन नसकेरै बिहे गरिदेका हुन् ।
म भित्रभित्रै मुर्मुरिन्थें— यो कुन भुंग्रोमा खस्न आइपुगें ?
कहिलेकाहीँ अतिचार हुँदा म गाउँमा लुक्न जान्थें । फेरि फर्केर घर त जानु नै पथ्र्यो ।
गाउँमा लुक्न जान्छेस् ? लु जा, बोलार ले कोकोल्लाई ल्याउँदी रै’छेस्, झन् कुट्थ्यो । कुटेर थाकेपछि फेरि मैमाथि खप्टिन आउँथ्यो । यातनाको पनि हद हुन्छ । म हदभन्दा बढी सहँदै थिएँ । भोलिपल्ट मैले हात चलाउनै सकिनँ । ऊ मान्छे अवतारमा फर्किएको थियो । अस्पताल गयौं । मर्किएको रहेछ । दिनैभरि माफी माग्यो । ‘अब सुध्रिन्छु’ भन्यो । आफैं रोयो, आफैंलाई सराप्यो । साँच्चै रक्सी नखाँदा त मान्छे असल नै छ । भन्यो, विद्या कस्सम, अब रक्सी छुँदै छुन्नँ ।
विद्या नै नभएको मान्छेलाई जाबो कस्समको के सुर्ता ! हरेक दिन घाम उदाउनु र अस्ताउनुजस्तै थियो उसको व्यवहार । थोरै सज्जन जस्तो, बाँकी … । भन्नै पनि सक्दिनँ । पशु भनौं— मेरो लोग्नेभन्दा धेरै जाति हुन्छन् । राक्षस भनौं— यति अत्याचार त तिनले पनि गरेको सुन्दिनँ । हात मर्किएदेखि अलि सुध्रिएको थियो । आज फेरि टिल्ल भएर आएछ । म डरले काँपिरहेकी थिएँ । मलाई धन्धा सके पनि माथि चढ्न आँट आएन । बसिरहेकी थिएँ के–के काम गरेजस्तो गरेर । मुनि आएर भन्यो, आज यतै सुत्ने ?
काम बल्ल सकियो, भनें । डरले आवाज दबिएको थियो । कोठामा पुग्न नपाउँदै झम्टिहाल्यो । नानी निदाइसकेकी थिई । ब्युँझिन्छे कि, यस्सो हेरें । उसलाई पनि त्यत्तिको हल्ला बानी परेको हुँदो हो । ब्युँझिइन ।
लोग्ने हो ऊ मेरो । कर्तव्य पूरा गर्न थाल्यो । म सहन नसक्ने भएँ । आवाज दबाउन सक्न छोडें । एकनास बगेका आँसुले हिँक्कहिँक्कबाट डाँको छोड्यो । तर, उसको प्यास मेटिएन । जिउभरि टोक्न थाल्यो । मानौं म मरिसकेकी सिनो हुँ । जताततै लुछ्न थाल्यो । त्यो जिउँदो मान्छेले खप्न सक्ने पीडा थिएन । म कहालिएर रुन थालें । छोरी पनि रुन थाली । बुवाआमाले ढोका ढक्ढक्याउनु भयो ।
राम ! के भयो ? ढोका खोल ।
उसले जवाफ फर्कायो, चुप्प लागेर सुत । केही भको छैन ।
उसले अब मलाई गिजोल्न छाडेर कुट्न थाल्यो । म ढोका खोल्न जान खोज्थें, ऊ मर्केको हात झन् बटारिदिन्थ्यो । उफ् ! मसँग अब एक रत्ति पनि शक्ति बाँकी थिएन । ढोका ढ्यांग–ढ्यांग गर्यो । बाहिर नयाँ आवाज सुनियो । कडा र स्पष्ट । ढोका खोल्ने कि म खोलौं ?
यतिबेला मेरो चेतनामा लाज भन्ने कुराले थोरै शक्ति दियो । आफ्नो शरीर सिरकले ढाकें । उताबाट ढ्यांग गरेपछि उसैले ढोका खोल्यो । पुलिस आएको रहेछ । माइतबाट बुवा, गाउँका दाइहरू पनि आउनुभएको रहेछ । आजसम्म टालटुल पारेर राखेको इज्जत पनि सकियो । मलाई अघिसम्मको पीडाले भन्दा बढी यसले पोल्यो । म यस्तो अवस्थामा थिएँ कि बुवालाई त के, कसैलाई हेर्नै सकिनँ । मलाई बुवाले ‘घर जाऊँ’ भन्नुभयो । म टोल थर्किने गरी रुन थालें । बिहेको दिन पनि खुब रोएकी थिएँ, जन्मेको घर छोड्दा । आज बुवाले ‘घर जाऊँ’ भन्दा मनको पहिरो एक्कासि भत्कियो । वर्षौं अघिदेखि बाँधिराखेको बाँध कमजोर भएर आफैं फुट्न लागेको थियो । सुरक्षित निकास भेटेपछि छेउका पहरालाई चुनौती दिँदै उर्लिएजस्तो । म ढुक्कले रोएँ । रोइरहें घर पुगुन्जेल । घरमा आमा, हजुरबुबा–आमालाई भेटेपछि झन् खहरे उर्लियो । रातभर घरमा कसैका आँखा ओभाएनन् ।
म माइतै बसेर काममा जान थालें । काम फिल्डमा थियो । तर, एकपटक त अफिस जानै पथ्र्यो । माइत गएको तीन दिन भएको थियो । अफिसबाट फर्किंदै गर्दा उसले बाटो छेक्योे । ‘घर हिँड, अब सुध्रिएँ, तिमीलाई धेरै माया गर्छु’ भन्यो । म बल्लतल्ल उम्किएर फर्किएँ । माइत पुग्दा त ऊ पनि पो अर्को बाटो टुप्लुक्क आइपुग्यो । घरमा कोही बोल्नुभएन । बहिनीले ठुल्ठूला आँखा बनाएर हेरी । आमाले कुकुरलाई नभन्ने गाली गर्नुभयो । गाउँका दाजुभाइ पनि आए । सबैले हप्काए ।
किन कुटिस् ?
अब कुट्दिनँ ।
किन आको साँझमा ?
बूढी लिन, ऊ जवाफ दिन्थ्यो ।
राति आमाले बीच खाटमा ओछ्यान देखाइदिनुभयो । उसले मेरो ओछ्यान छोडेन । भोलिपल्ट बिहानै गयो । म दिउँसो काममा गएँ । फर्किंदा साझ पथ्र्यो । खाना खाएर सबै सुतिसकेका थियौं । राति ९ बजेको थियो । आवाज आयो, रीता, रीता !
को हो ? बुवाले सोध्नुभयो ।
म ।
को म ?
अब मलाई लाजशरम भन्ने कुरा सब पचिसकेको थियो । बुवाले ढोका खोलिदिनुभो । ऊ सरासर मेरो ओछ्यानमा आएर सुत्यो । बिहानभरि फकायो, अस्ति पुलिसले सारै कुट्यो । अब म तिमीलाई माया गर्छु । केही गर्दिनँ, हिँड ।
आखिर माइत हो, कतिन्जेल बस्न सक्थें र ! बुवाआमाले घरमा फोन गर्नुभयो । सासू–ससुरालाई सोध्नुभयो । उहाँहरूले पनि पठाइदिनू भन्नुभयो । हामी गयौं । तर, नस्पातीको बोटमा सुन्तला किन फलोस् ! अफिसबाट अलि ढिलो भएको थियो घर आउन । खाना खाने बेला भइसकेको रहेछ । खाना खायौं । धन्दा गर्दै थिएँ, उसले बोलायो । बाहिर निस्किँदा बाइक स्टार्ट गरेको थियो । मलाई बस्न भन्यो । कहाँ जाने ? उत्तर थिएन । आदेश थियो, खुरुक्क बस् न । बसें । घरबाट ६–७ किलोमिटर पूर्व पुगेपछि उत्तर लाग्यो बाइक । अलि पर जंगलको छेउमा एउटा पुरानो घर थियो । खन्डहरजस्तो ।
किन ल्याउनुभको यहाँ ?
हेर्दै डरलाग्दो घरमा मलाई तान्दै भित्र छिरायो, तेरो लागि बनाको यो घर । अब जति चिच्याउनु छ, चिच्या ।
यति भनिसकेपछि उसको जंगलीपन ममाथि खनियो । घरमा सताएकोले पुगेन । अब त जंगलमा कसले सुन्ने मेरो आवाज ? मेरो आवाज रुख–रुखमा ठोक्किएर मुच्र्छित भयो । पूरै प्यास बुझेपछि उसले घर फर्कायो । अब त यो घटना पनि दिनहुुँजसो हुन थाल्यो । म उसकी स्वास्नीमात्र हैन, कसैकी आमा पनि थिएँ । बुहारी थिएँ । तर, घरप्रतिको मेरो जिम्मेवारी लगभग शून्य थियो । मेरो होश पनि ठेगानमा थिएन । अब कतिबेला बूढोले बोलाउने हो भनेर कहालिँदै धन्दा गर्दै थिएँ । आज बोलाएन । छोरी पनि मसँगै सुत्छु भनेकी थिइ । म छोरीलाई सुताउँदै थिएँ । ऊ खुब मायालु बन्यो ।
मैले तिमीलाई सारै दुःख दिएँ, अब दिन्नँ । मलाई एउटा छोरा पाइदेऊ, त्यत्ति भए हुन्छ ।
कतै छोरो नजन्माएकोले पो यस्तो भएको हो कि । मेरो मनमा पनि लागेको थियो । उसले छोरीलाई एकपटक पनि मायाले हेरेको छैन । छोएको छैन । अब म अरू केटीसँग पनि लाग्दिनँ भनेर कसम खायो । म पनि सहमत भएँ । मैले छोरा पाउने, उसले रक्सी र केटी छोड्ने । अब दिनहरू उति तनावपूर्ण भएनन् । नभन्दै मलाई लक्षण देखापर्न थाल्यो । म आमा बन्ने भएँ । तर, छोराको या छोरीको ? यो भने निश्चित भएको थिएन । कतिबेला घर आउलान् र यो खबर सुनाउँला भनेर म आतुर थिएँ । फेरि बेस्सरी पिएर आएछ । मलाई उसको रक्सी खाएको रूप देख्यो कि कामज्वरो आउँथ्यो । जाडोमा पनि पसिना निस्किन्थ्यो । म काम्न थालें । कोठामा छिर्नेबित्तिकै उसको रौद्ररूप शुरु भयो । मलाई थाहा थियो— मातेपछि उसको प्यास रातभर पनि बुझ्दैन । मैले आफ्नो पेटको बच्चाको लागि पनि आफूलाई जोगाउनु थियो । म शुरुमै चिच्याउन थालें । हारगुहार माग्न थाले । बुवाआमाले ढोका ढक्ढक्याउनुभयो । छिमेकी आए । उसलाई कसैको मतलब थिएन । मलाई जतासुकै भकुर्न थाल्यो । खेलाडीले गोल खेल्न अभ्यास गरेजस्तो । फेरि नौलो आवाज आयो । पुलिस आएछन् । धेरैबेर ढ्यांग–ढ्यांग गरेपछि बल्ल ढोका खोल्योे । उसलाई पुलिसले लिएर गए । छिमेकी पनि मलाई सहानुभूति पोखेर हिँडे । म जहाँ थिएँ, त्यहीँ अडें रातभर । भोलिपल्ट घरमा सल्लाह भयो । उसलाई ठानाबाटै सुधार केन्द्र पुर्याइयो । यो उसको तेस्रो बसाइ हो सुधार केन्द्रको । यसअघि दुइचोटि बिहेअघि नै राखिएको रहेछ । मलाई भने नमीठो लागिरह्यो ।
मेरो पेट ठूलो हुँदै थियो । ऊ गएको पनि ६ महिना भएको थियो । नशा धेरै भएकाले अझै ६ महिना राख्नुपर्ने भयो । म फेरि दोस्रोपल्ट पनि आमा भएँ । मलाई दुबैचोटि आमा बन्दा उस्तै कष्ट भयो । उत्ति नै आनन्द पनि भयो । तर, यो पल्ट छोराकी आमा भएँ भन्ने पहिलोपटक सुन्दा खुब खुशी भएँ । त्यो खुशी उसको बाबुको लागि थियो । अब फर्केर आएपछि चाहिँ सुध्रिन्छ कि ! आखिर सन्तान उसले चाहेकै भयो । मनमनै भगवानलाई धन्यवाद दिएँ ।
मेरो सुत्केरी समय पनि राम्ररी बित्यो । नाति जन्मेको, सासूआमाले कुनै कसर राख्नुभएन स्याहार्नलाई । माइत पनि ढुक्कसँग बस्न पाएँ । छोरा भएको चार महिनापछि ऊ घर आयो । छोराको बाबु भएको थियो । भर्खर सुध्रिएर आएको । म कुनै हालतमा यो वातावरण नबिग्रियोस् भन्ने चाहन्थें । उसलाई खुशी नै खुशी राख्न थाल्यौं घरमा सबैले ।
शायद कुकुरलाई घिउ पच्दैन । उसलाई बाबुआमा, छोराछोरी, बूढीको माया पचेन । उसको व्यवहार फेरि दोहोरिन थाल्यो । मलाई दिनदिनै फेरि उही दुःख दिन थाल्यो । ‘अर्की ल्याउँछु, पोइला जा’ भन्थ्यो । बुवा–आमालाई पनि टेर्दैनथ्यो । बुवा–आमा पनि अब त उसको व्यवहारले आजित हुनुभएको थियो । भन्नुभयो, तँ जाँसुकै जा, मर् कि बाँच्, यो घरमा नआइज । हामी बुहारी, नाति–नातिनासँगै बस्छौं ।
ऊ उसैगरी राति घर आउँथ्यो । म नानीहरू लिएर ढोका लगाई भित्र पसिहाल्थें । ऊ ढोका फुटाउलाझैं गथ्र्यो । घरमा पुलिस आउँथे, लान्थे । भोलिपल्ट छुट्थ्यो, फेरि उस्तै । ऊ दिनदिनै नयाँ–नयाँ केटीसँग सुतेका भिडियो पठाउँथ्यो । उसले खोजेको के हो ? मैले कहिले बुझिनँ । अरू केटी मनपर्ने भए किन बिहे गर्दैन ? किन रक्सी नखाँदा असल हुन्छ ? कस्तो मुटु छ उसको आफ्नै फूलजस्ता छोराछोरी देख्दा पनि माया नपलाउने ? अब त मेरो मन पनि उसकै जस्तो भयो । संवेदनाहीन । निरस । निर्मम ।
अब मसँग छोराछोरीको जिम्मेवारी थियोे । सासू–ससुराप्रतिको कर्तव्य थियो । लोग्नेका प्रति ? सोचें— मरेपछि किरिया गर्छु, बस् ।
मेरो काम गर्दागर्दै धेरै मान्छेसँग चिनारी भयो । कामको कुरा सिकें । व्यवहारको कुरा सिकें । जिन्दगीको मूल्य बुझें । मलाई हरपल मर्न विवश बनाउने मान्छे कसरी पतिको नाममा परमेश्वर भयो ? मैले लोग्नेलाई पूरै बेवास्ता गर्न थालें ।
० ० ०
अचेल अफिसमा बसेर काम गर्न थालेकी थिएँ । घर बेलैमा आउँथें । ऊ कहिलेकाहीँ टिल्ल भएर आउँथ्यो । म बुवा–आमालाई खाना दिएर आफू पनि खान बस्थें । उब्रेको फालिदिन्थें । धन्दा गर्थें । आफ्नो कोठामा गएर चुक्कुल लगार्ए बस्थें । ऊ मूर्तिवत् हेरिरहन्थ्यो । शुरुशुरुमा उसले कुटपिट गर्न नखोजेको होइन । अफिसमा आएर धम्क्याउँथ्यो पनि । तर, मभित्रको ज्वालामुखी विष्फोट भइसकेको थियो । यसले ममा एक्कासि यति हिम्मत पलाएको थियो कि जँड्याहासँग त के, म भुस्तिघ्रेसँग पनि लडाइँ गर्न तयार थिएँ ।
बेलुका म घरको धन्धा गर्दै थिएँ । मेरो घरमा बसेर मैलाई एक्का बनाउछेस् ? भन्दै उसले मलाई भुत्ल्याउन खोज्यो । मैले एकै धक्कामा उसलाई लडाइदिएँ । त्यसपछि उसले फेरि हात उठाउने हिम्मत गरेन । आफ्नो शक्ति चिन्न मलाई यतिका पीडा खप्नुपर्यो । बुवा–आमा पनि हारहद्दे हुनुभएको थियो । छोरीले कहिल्यै बाबुको माया पाइन । ऊ बाउलाई देख्यो कि डरले मसँग टास्सिन आइपुग्छे । छोरोलाई के थाहा ! पछि थाहा पाउला उसको बाउ हिंस्रक जनावर हो ।
मैले प्रतिरोध गर्न थालेपछि ऊ साँच्चै कमजोर भएको थियो । मैले बेवास्ता गरेपछि पागलजस्तै भएको थियो ।
घरको दोकान राम्ररी चलेको थियो । बुवा पनि स्कुलबाट रिटायर्ड हुनुभएको थियो । छोरी स्कुल जाँदै थिई । छोरो हुर्किंदै थियोे । म जागिर खाँदै थिएँ ।
ऊ अचेल घर एकदम पातलो गरी आउँछ । त्यो पनि म नभएको बेला । अब उसले बाटो छेकेर केही गर्ला कि भन्ने डर लाग्दैन पहिलाझैं । पानीको छालले हिर्काउँदा–हिर्काउँदा चिल्लिएको ढुंगाजस्तो मेरो जिन्दगी पनि दुःखले हिर्काउँदा–हिर्काउँदा बल्ल हेर्न हुने भएको छ । मलाई अब गिट्टीजस्तो अमिल्दो जिन्दगी बाँच्नु छैन । भन्न त अझै पनि कोहीकोहीले सम्झाउँछन्, हेर, लोग्ने भनेको लोग्ने नै हो । यो घरपरिवार उसकै कारणले त तिम्रो भएको हो । अहिले रिस उठे पनि एकदिन माया पलाइहाल्छ । यसरी लोग्नेलाई बेवास्ता गर्नु हुँदैन ।
मलाई तीप्रति खुब दया लाग्छ । यत्ति भन्छु, मैलेजस्तो तपाईंले बाँच्नु परेन । परेको भए शायद तपाईं कसैको सल्लाह लिन बाँच्नुभएकै हुन्नथ्यो होला ।
ऊ घर बाहिरबाहिरै भएको पनि एक वर्ष भएको छ । मलाई एक पल पनि उसको अभाव महसुस हुन्न । मैले जुन–जुन समय लोग्नेले मलाई माया गर्छ भन्ने ठानें, त्यहाँ मायाको कुनै नामोनिशान थिएन । दुःख लाग्छ त बस् आफ्ना सन्तानले बाबुको छहारी पाएनन् । यसको जिम्मा मैले तिनकै भाग्यको भरमा छोडिदिएकी छु ।
आज विगतको पूरै चक्कर लगाउँदा मन हलुका भयो । आफैंले आफ्नो वकालत गरें । आफैं न्यायाधीश भएर फैसला सुनाएँ, तैंले जे गरिस्, ढिलो गरिस् तर पनि गरिस् । स्याबास !
आफैंलाई प्रतिप्रश्न गर्छु, किन मान्छेको भीडमा यही प्रश्नले मलाई घाइते बनाउँछ श्रीमान् ?
फेरि प्रतिप्रश्न गर्छु, अनि किन यही प्रश्नबाट भागेर हिँड्छेस् त ?
नभागेर के गरौं ?
सत्यको बाटो हिँड् । भागेर कहाँ पुग्छेस् ?
० ० ०
घर फर्किएँ । माथि आकाशमा चराहरू पनि गुँड फर्किंदै थिए । मन चंगाजस्तै भयो । हलुका ! स्वतन्त्र !
पूजामा जान मनै थिएन । स्वस्थानीको प्रसाद खानुपर्छ भन्दै आमाले कर गर्नुभयो । गएँ । गाउँका साथीले अघि खाइसकेका रहेछन् । म नचिनेका मान्छेसँग बसेर रोटीसब्जी खान थालें । छेउकी दिदी पूजा भएको घरकी छोरी रहिछन् । चिनजान गर्यौं । गफैगफमा उनले सोधिन्, अनि भाइचैं के गर्नुहुन्छ ?
अकस्मात् मेरो मुखबाट निस्कियो, रक्सी खानुहुन्छ । बिहे गर्नुहुन्छ । पहिला विदेश पनि जानुहुन्थ्यो ।
उनी अक्क न बक्क परिन् । म धारातिर गएँ । उनलाई घर जान हतार भएको थियो । सुनाउँदै थिइन्— लोग्नेले छिटो आइज भनेर फोन गरेको गर्यै छन् । भन्दै थिइन्, मलाई सधैं यस्तै हो । कहिल्यै ढुक्कले माइत बस्न पाउँदिनँ ।
सोचिन् होला— म कति अभागी । आफ्नो आङको भैंसी मान्छेले कहाँ देख्छ र ! तराजुमा जोख्दा धेरथोर होला । तर, उनलाई चैं पीडा छैन र ? पीडित त मभन्दा बढी उनी हुन् । कम्तीमा मलाई त थाहा छ— म पीडित छु । उनलाई त आफू सुखी हुँ कि दुःखीसम्म थाहा छैन । विचरा !
(नाेट : साहित्य संग्रहालयमा भएकाे याे कथाकाे शीर्षक परिवर्तन गरी साभार गरिएकाे हाे ।)
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०७६