काठमाडौं । संसद् सचिवालयमा कार्यरत कर्मचारी राेशनी शाहीलाई यौन दुर्व्यवहार गरेकाे आराेपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिकाे अनुसन्धान सकेकाे छ ।
प्रहरीले महरामाथिको अनुसन्धान सकेर सरकारी वकिललको कार्यालयमा प्रतिवदेन बुझाएको जनाएकाे छ । महरालाई पक्राउ गरी अनुसन्धान गरेर तयार अनुसन्धान प्रतिवेदन महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाएको हो ।
प्रहरी प्रतिवेदन अध्ययन गरी महरालाई सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्ने छ । प्रहरीले भने मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुर्व्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको छ ।
बिहीबार मात्रै महरामाथि अनुसन्धानका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट थप ७ दिनको समय पाएको थियो । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका उनी केही हप्तायता प्रहरीको अनुसन्धानमा छन् ।
महरालाई २०७६ असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो । गत असोज १२ गते राति संसद सचिवालयमा कार्यरत महिला रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि प्रहरीमा किटानी जाहेरी परेको थियो । घटना सार्वजनिक भएपछि १४ गते महराले पदबाट राजीनामा दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६