काठमाडौँ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएका २ हास्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ टिमबीचको विवाद सहमतिमा टुंगिएको छ ।
प्रहरी कार्यालयमा भएको छलफलपछि एकले अर्कालाई सम्मान र सहयोग गर्ने तथा आगामी दिनमा यस विषयमा बहस र विवाद नगर्ने सहमति भएको सक्किगोनी टीमका मधुसूदन पाठकले बताए ।
मिडिया हबले आफ्नो उत्पादन भद्रगोलको क्यारेक्टर नक्कल गरेको भन्दै कपिराइटको उजुरी हालेको थियो । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवले आपति जनाएपछि २ शृङ्खलाका निर्माताबीच विवाद चर्केको थियो ।
मिडिया हबका अध्यक्ष सोम धितालले ‘सक्किगो नि’ नामको टेलिशृङ्खलाले ‘भद्रगोल’को पात्र हुबहु नक्कल गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । ‘सक्किगो नि’ निर्माण संस्था जेपिटी क्रिएसनले भने कलाकारको चरित्र आफूले जुनै शृङ्खलामा प्रयोग गर्न पाउने अधिकार भएको दाबी गर्दै आएकाे थियाे ।
सहमति अनुसार ‘सक्किगोनि’ले अहिले प्रयोग गर्दै आएका क्यारेक्टरलाई निरन्तरता दिन पाउने छ । ‘भद्रगोल’बाट अलग भएको समूहले ‘भद्रगोल’कै क्यारेक्टर राखेर ‘सक्किगो नि’ सुरु गरेको थियो ।
कलाकार र सर्जकलाई मिडिया हबले सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हबको योगदानलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता दुबै पक्षले जनाएका छन् ।
विवाद मिलेपछि अब दुवै शृंखला ‘भद्रगोल’ र ‘सक्किगो नि’ दर्शकले पहिलेकै समयमा नियमित हेर्न पाउने छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६