काठमाडाैं । सर्वोच्च अदालतले बैतडीमा बलात्कृत पूजा बोहोराकाे मुद्दामा उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याइदिएकाे छ ।
न्यायाधीश सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै सागर भट्ट र अमर अवस्थीलाई बलात्कारी ठहर गरेको सर्वोच्च अदालत स्राेतले जनाएकाे छ ।
सर्वोच्चले उनीहरूलाई कसूरदार निर्धारण गर्दै नयाँ फौजदारी संहिताअनुसार सजाय गर्न आदेश दिएको छ । उनीहरूलाई सजाय भने तोकिएको छैन ।
२ वर्षअघि बनेको मुलुकी संहिताले कसूर कायम गरेपछि अर्को पटकमात्र सजाय निर्धारण गर्ने व्यवस्था अनुसार उनीहरूलाई अहिले सजाय नतोकिएको हाे ।अर्कोपटकको पेशीमा मात्रै उनीहरूलाई सजाय तोकिने बताइएकाे छ ।
जिल्ला अदालतले भने उनीहरूलाई बलात्कार गरेकोमा ८ वर्ष, सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो ।तर २०७१ वैशाख १५ गते पुनरावेदन अदालत महेन्द्रनगरले फैसला उल्टाइदिएको थियो ।
पीडित बोहराले तत्कालीन कानुनमन्त्री नरहरि आचार्यलाई पत्र लेखी ‘मेरो जीवन निमोठ्नेहरु निर्दोष हुन् ?’ भनी प्रश्नसमेत गरेकी थिइन् ।
२०६८ चैत ७ मा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन् । त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६