काठमाडौं । हरेक तिहारमा ३ दिन सार्वजनिक बिदा हुँदै आएकामा यस वर्ष भने ५ दिन बिदा परेकाे छ । कात्तिक ९ गतेदेखि १३ गतेसम्म लगातार सार्वजनिक बिदा परेकाे हाे ।
कात्तिक ९ गते शनिबार परेकाे र भाइटिकाकाे भाेलिपल्ट पनि सरकारले बिदा दिएकाले बिदा लम्बिएकाे हाे । नेवार समुदायको भाइटीका (किजा पूजा) काे अवसरमा सरकारले कात्तिक १३ गते अर्थात् भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे ।
सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेवार समुदायले मनाउने किजापूजा १३ गते परेकाले बिदा दिइएको जानकारी दिए ।
अरू समुदायले भने १२ कात्तिकमा भाइटीका लगाउने छन् । पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको उत्तम साइत ११ः५५ मा छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६