भक्तपुर । फूलबारी नभएको कुनै पनि घर छैन गुन्डुमा । सबैको घर–घरमा फूलबारी छ । मौसमी, बेमौसमी मात्र नभई स्वदेशी तथा विदेशी फूलहरूले गुन्डुको सुन्दरता नै बेग्लै बनाएको छ । कुनै फूल टिप्न लायकका छन् भने कुनै फूल माघ/फागुनका लागि भनेर पल्लवी पलाइरहेको छ । साथै वैशाख जेठका लागि भनेर गुलाबहरू कटिङको तयारीमा समेत देखिन्छ । त्यति मात्र नभई साउनदेखि टिप्न थालिएको सयपत्रीले अझै फूल्न छोडेको छैन ।
यसरी भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका स्थानीय अहिले फूल टिप्न, माला उन्न र बिक्री गर्नमै व्यस्त छन् । अहिले तिहारको सिजन सुरु भएकाले खासगरी मखमलीको कारोबार भइरहेको छ । गुन्डुका स्थानीय अहिले मात्र नभई बाह्रै महिना पुष्प व्यवसायमै व्यस्त हुने गरेका छन् ।
उमेरले ६७ वर्ष पुगेका कैलाश नगरकोटीका अनुसार नेपालमा राम्रोसँग फूलको बिक्री भएको २०५०/०५१ सालबाट हो । पहिले मन्दिरमा नारायणपाती चढाउनेहरू त्यसयता फूल किनेर चढाउने चलनको सुरुआत भएको बताउँछन् । उनका अनुसार गुन्डु गाउँमा फूल व्यवसाय नगर्ने घरै छैन भने बाह्रैमास फूल उत्पादन हुने गरेको छ ।
उनले पनि गुलाव, गोदावरी, मखमली, सयपत्रीदेखि लिएर अहिले बजारमा आएका विदेशी फूलहरू समेत उत्पादन गर्दै आएको बताउँछन् । सिजन अनुसार फरकफरक जातका फूलहरूको माग छ । फूल व्यवसायीका लागि सबैभन्दा बढी फूल उत्पादन हुने समय भनेको वैशाख, साउन, तिहारको सिजन र माघ महिना हो भने अन्य समयमा पनि कारोबार भइरहने उनले बताए ।
आफ्नै जग्गामा सुरु गरेको पुष्प खेतीमा अहिले स्वदेशी एवं विदेशी गरी कैयौं प्रकारको पुष्प फुलिरहेको मनमोहक दृश्य देख्दा जो सुकैको मन हर्षित हुने प्रेमसिंह नगरकोटीको भनाइ छ । शून्यबाट सुरुआत गरेका नगरकोटीले अहिले आफ्नो ३ रोपनी जग्गामा फूल खेती गरेका छन् ।
समय परिवर्तनसँगै विश्वमै फ्लोरिकल्चरको महत्व बढ्दै गइरहेको र अहिले जुनसुकै शुभ कार्य गर्दा फूल अनिवार्य रुपमा चाहिने कारणले अन्तर्राष्ट्रिय स्तरमा फूलको माग तीव्र रुपमा बढ्दै गएको नगरकोटी बताउँछन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६