काठमाडाैं । पशुपति क्षेत्र विकास कोष र घाट सेवा केन्द्रका कामदारबीच शुल्क समायोजन गर्ने सहमति भएको छ । पशुपतिस्थित घाट सेवामा कार्यरत कामदारले शव जलाउँदा लिइने सेवा शुल्कमा वृद्धि हुनुपर्ने माग गर्दै आजदेखि शव दाह रोक्ने घोषणा गरेका थिए ।
कामदारको मागपछि आजै वार्ता गरी शुल्कमा समायोजन गरिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए । कामदारले २० वर्षसम्म शव जलाउने काम गरेपछि अवकाशका बेला १० लाख रुपैयाँ पाउनुपर्ने माग गरेकामा ५ लाख दिने गरी सहमति भएको छ । यसअघि २० वर्ष घाट सेवामा काम गरेकाले अवकाशका बेला डेढ लाख मात्र पाउँथे । यसैगरी १५ वर्ष काम गरेकाले ३ लाख पाउने भएका छन् । यसअघि १ लाख पाउँथे ।
१० वर्ष शवदाह गरेकाले ५० हजार अवकाशस्वरुप पाउने गरेकामा डेढ लाख पाउने सहमति भएको छ । यसैगरी शवदाह गरेको प्रतिशव १ हजार २ सयबाट बढाएर १ हजार ५ सय रुपैयाँ बनाइएको छ । दाउरा बोक्नेको प्रतिशव ४ सयबाट बढाएर ६ ससय रुपैयाँ पुर्याइएको कोषले जनाएको छ ।
घाट सेवामा हाल ४९ कामदार कार्यरत छन् । कामदार आवश्यक पर्दा सूचना प्रकाशित गरी निवेदन माग गर्ने गरिएको छ । यसरी आएका कामदारलाई सूचीमा राखी पालोका आधारमा काम दिइने गरेको सदस्य सचिव ढकालले बताए । कोषले ९ वर्षपछि घाट सेवाका कामदारको शुल्क समायोजन गरेको हो ।
घाट सेवामा कार्यरत सबै कामदारको बीमा २ लाखका दरले कोषले नै गरिदिने भएको छ । पशुपतिको विद्युतीय शवदाह गृहमा समेत गरी दैनिक औसत ३० शव आउने गरेका छन् । त्यसमध्ये धेरैको प्राथमिकता विद्युतीय शवदाह गृह बन्ने गरेको कोषले जनाएको छ । हाल २ विद्युतीय शवदाह गृह सञ्चालनमा छन् । तेस्रो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
कोषले ६ महिनापछि काठबाटै शव जलाउन सकिने तर धुवाँ नआउने वातावरण मैत्री शवदाहको व्यवस्था गर्न लागेको जनाएको छ । यस्तो यन्त्र विद्युतीय शवदाह गृहसँगै जडान गरिने छ । यो यन्त्र जडान भएपछि काठबाट शव जलाउन कम हुने छ । यसले पशुपति क्षेत्रको वातावरणीय सुधारमा सहयोग पुग्ने आशा गरिएको छ ।
विद्युतीय शवदाह गृहमा शव जलाउँदा बढीमा ५ हजार रुपैयाँमा सम्पन्न हुन्छ । काठबाट शव जलाउँदा भने कम्तीमा १५ हजार रुपैयाँ लाग्ने कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६