जनकपुर । धनुषास्थित जनकपुर गोली चल्दा १ जनाको मृत्यु भएको छ। जनकपुरधाम उप–महानगरपालिका-१४ मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै बुधबार गोली लागेर ४० वर्षे मनाेज साहको मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानमा यो घटना लेनदेनसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीका अनुसार गोली प्रहार गर्ने चौधरी र मृतक साह दुवैजना स्थानीय ठेकेदार हुन् । ‘लेनदेनको विवाद जस्तो देखिन्छ’, कार्कीले भने, ‘चौधरी पक्राउ परिसकेका छन् सोधपुछ हुँदै छ ।’
मुजेलियाकास्थित पंकज चौधरीको घरमा मनोज पैसा माग्न जादा २ पक्षबीचको विवादमा गोली चलेको थिहाे । मृतक मनोजले पंकजसँग पैसा लिन बाँकी भएकाले त्यही ताकेता गर्न जाँदा गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोली प्रहारबाट मृत्यु भएका मनोजको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गरेका पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा छन् ।
प्रहरी हिरासतमा रहेका पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ३ राउन्ड गोली बरामद गरेको छ ।
पंकज निर्माण व्यवसायी हुन् । उनले सपहीमा रहेको मनोजको शिव आयल निगमबाट पेट्रोलियम पदार्थ किन्ने गरेका थिए । प्रहरीका अनुसार पंकजले मनोजको पेट्रोल पम्पबाट करिब १७ लाख रुपैयाँ बराबरको डिजेल लिएका थिए । जसबाट करिब ८ लाख रुपैयाँ उनले तिर्न बाँकी थियो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६