साेलुखुम्बू । थुलुङदूधकोसी गाउँपालिकालाई साढे १७ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ ।
स्थानीय समाजसेवी एकाबहादुर गुरुङले यसअघिको प्रतिबद्धताअनुसार गाउँपालिकालाई उक्त जग्गा रजिष्ट्रेशन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अबिलाल राईले जानकारी दिए ।
अधिकृत राईका अनुसार करिब ८५ लाख बराबरको जग्गा गाउँपालिकाको नाममा निःशुल्क प्राप्त भएको हो । गाउँपालिकाको भवन निर्माण गर्ने बेला मौखिकरूपमा सहमति भएअनुसार गाउँपालिकाको नाममा रजिस्ट्रेसन पास भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।
स्थानीय समाजसेवी गुरुङले १७.५ रोपनी जग्गा कानूनीरूपमा गाउँपालिकाको नाममा पास गरिदिएको अध्यक्ष राईले बताए । सानो सहयोगले सिङ्गो गाउँपालिकाको विकासका लागि टेवा पुग्ने भएकाले जग्गा उपलब्ध गराएको जग्गादाता गुरुङको भनाइ छ ।
गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त जग्गामा एक वर्षअघि नै गाउँपालिकाको सुविधासम्पन्न भवनसमेत निर्माण भइसकेको छ । यसअघि गाउँपालिकाले व्यक्तिको नामको जग्गामा सरकारी भवन बनाएको आरोपसमेत लागेको थियो ।
आफूहरुले गाउँपालिकाको नाममा दिइसकेको जग्गामा केही व्यक्तिले अनावश्यक विवाद गरेको जग्गादाता एकाबहादुरका छोरा जीवन गुरुङले गुनासो गरे । रासस
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६