काठमाडाैं । ललितपुर भट्टेडाँडाका विष्णु तिमिल्सिना बागमती गाउँपालिका–३ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पनि हुन्। उनी बालुवा, ढुंगा र गिटी उत्खनन र बिक्रीमा व्यस्त हुन्छन्। ठेकेदारको काम पनि गर्ने उनका कान्ति कन्स्ट्रक्सन प्रालिसहित दुईवटा कम्पनी छन्। उनले ती कम्पनीमार्फत बालुवा, ढुंगा र गिटी उत्पादन, बिक्रीवितरण र निर्माणसम्बन्धी काम गर्छन्।
गाउँपालिकाभित्रकै खानी खोला, ठोस्ने खोला र कान्ति लोकपथ सडकको भित्तो उनको कम्पनीका बालुवा र ढुंगा उत्खननका स्रोत हुन्। सातदोबाटोस्थित प्राणदेवी इन्टरप्राइजेजका सञ्चालक राजकुमार भण्डारी भन्छन्, ‘वडाध्यक्ष विष्णु तिमिल्सिना, गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चन, गोदावरी नगरपालिका–६ का वडाध्यक्ष विष्णुमान महर्जनलगायतले बालुवा, गिटी र ढुंगा उत्खन्न गरी सप्लाई गर्नुहुन्छ। हामी उहाँहरूबाटै किन्छौं।’
जनप्रतिनिधि हुनुअघि तिमिल्सिना ठेकेदार थिए। हात्तीवनमा उनका कान्तिपथ र गौरी पार्वती कन्स्ट्रक्सन प्रालि नामका दुइटा कम्पनी छन्। ती कम्पनीसँग चारवटा डोजर पनि छन्। जनप्रतिनिधि भएपछि पनि उनी ठेकेदारकै रूपमा व्यस्त छन्, वडा कार्यालयमा खासै भेटिँदैनन्। सेवाग्राहीलाई काम गर्दा आफू भएकै ठाउँमा बोलाउँछन्। छपेलीका कृष्ण तिमिल्सिना भन्छन्, ‘२०७६ भदौ पहिलो साता भाइको नागरिकता बनाउन सिफारिस लिन जाँदा वडाध्यक्ष भेटिएनन्। नाजरिक दैनिकमा समाचार छ ।
२९ भदौ २०७६ मा हामी छपेलीस्थित वडा कार्यालय पुग्दा पनि वडाध्यक्ष तिमिल्सिना कार्यालयमा थिएनन्। खोज्दै जाँदा उनी भट्टेडाँडास्थित बालुवा खानीमा टिपरमार्फत बालुवा र ढुंगा बिक्री गरिरहेको अवस्थामा भेटिए।’ तिमिल्सिना स्वयं स्वीकार्छन्, ‘म ठेकेदार पनि हुँ। म पहिलेदेखि बालुवा, ढुंगा र गिटी उत्खनन र निर्माण कार्यमा संलग्न छु। जनप्रतिनिधि बन्दैमा पहिलेदेखि गर्दै आएको काम चटक्कै छाड्न सक्दिनँ। सेवाग्राहीलाई मारमा पार्दिनँ, आफू भएकै ठाउँमा बोलाएर भए पनि सेवा दिन्छु।’
बागमती गाउँपालिका अध्यक्ष लोप्चन पनि भट्टेडाँडास्थित खानी उत्खननमा संलग्न छन्। कान्ति लोकपथ निर्माण क्रममा छपेली बजारभन्दा माथिल्लो भित्तोमा बालुवा खानी फेला परेपछि २०७५ चैतदेखि उनी पनि उत्खननमा व्यस्त छन्। भट्टेडाँडाका नवराज कार्की भन्छन्, ‘धेरैजसो जनप्रतिनिधि बालुवा र ढुंगा उत्खनन र निकासीमा संलग्न छन्।’ अध्यक्ष लोप्चनचाहिँ ‘भूकम्पपछि पुनर्निर्माणका लागि बालुवा र ढुंगा उत्खनन गरिएको हो र त्यसबाट आफूले व्यक्तिगत फाइदा नलिएको’ बताउँछन्।
गोदावरी नगरपालिका–६ का वडाध्यक्ष महर्जन लेलेमा रहेको सगरमाथा स्टोन क्रसर प्रालिबाट बालुवा र गिटी निकासी गर्छन्। उनको एकल लगानीको यो कम्पनी २०७३ यता नवीकरण भएको छैन। गोदावरी नगरपालिकाले २८ कात्तिक २०७५ मा जिल्ला समन्वय समितिलाई पठाएको पत्रमा यो उद्योग नवीकरण नभएको उल्लेख छ। महर्जन गोदावरी नगरपालिकाको खानी संयोजक पनि छन्। अनि उनैमाथि लेले क्षेत्रको वन क्षेत्र तहसनहस पारेको आरोप छ। टीकाभैरवका स्थानीय तथा मानवअधिकार आयोगका कर्मचारी लक्ष्मण रानाले जनप्रतिनिधिसहितको संलग्नतामा भइरुहेको प्रकृति दोहनले टीकाभैरव क्षेत्रको वन उजाड बनेको बताए। ‘वन उजाडिएको छ, खानेपानीका मुहान सुकेका छन्, टिपर ओहोरदोहोरले सडक भत्किएको छ’, उनले भने, ‘जनताका प्रतिनिधि नै यस्तो गैरकानुनी काममा लिप्त छन्।’
दुम्सिडोल सामुदायिक वन संरक्षण समितिका सचिव सुरेश तामाङका अनुसार महर्जनले ६ महिनायता रूख कटान गरेर ढुंगा खानी सञ्चालन गर्दा वन क्षेत्र उजाड बनेको छ। टीकाभैरवमा आउने खानेपानीको मुहान सुकेको छ। तामाङले भने, ‘यति हुँदा पनि नगरपालिका र वन कार्यालयले वडाध्यक्षलाई केही गर्न सक्दैनन्।’ नवीकरणबिना क्रसर र खानी उद्योग चलाइरहेका महर्जनसँग ना२क ५८, बा२क ६१३२, बा२क २०६२ नम्बरका टिपर छन्।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६