काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लास्थित कुन्छेपकालको डाँडामुनि रहेको जंगलक्षेत्र अतिक्रमण गरी धमाधम प्लटिङ थालिएको छ । तारकेश्वर नगरपालिकाको मिलिमतोमा व्यवसायीले सार्वजनिक जग्गासमेत अतिक्रमण गरेर धमाधम प्लटिङ गरेको स्थानीय बासिन्दाको आरोप छ ।
व्यवसायी विनोद पण्डितले तारकेश्वर नगरपालिकाका पदाधिकारीसँग मिलेमतो गरी साङ्लामा रहेको ५० रोपनी जग्गामा प्लटिङ गर्दा ५० वटा रूख काटिएका छन् भने खेतीयोग्य जमिनसमेत नष्ट भएको छ । खानेपानीको मुहानमा समेत असर परेको छ । प्लटिङ गर्दा सो क्षेत्र माथि र तल रहेका दर्जनांै घर जोखिममा परेका छन् । प्लटिङभन्दा माथि ढकाल बस्ती र मुनि अधिकारी बस्ती रहेको छ । ती दुवै बस्तीहरुमा जुनसुकै समयमा पनि पहिरो आउने जोखिम बढेको स्थानीयको गुनासो छ । राजधानी दैनिकमा खबर छ ।
बालाजु प्रहरीका डीएसपी बालनरसिंह राणाले पहिला अतिक्रमण भएको उजुरी आएपछि आफूहरूले रोके पनि अहिले आएर यस सम्बन्धमा कुनै जानकारी नभएको बताए । व्यवसायी पण्डितले शिवपुरी राष्ट्रिय निकुञ्जको सर्वेक्षण टोली आएर अनुमति दिएपछि आफ्नै बारीको ४० वटा रूख काटिएको दाबी गरे । तर, सिमानाको विषय भने अझैसम्म टुंगिएको छैन । नगरपालिकाले पनि आफ्नो क्षेत्रको सार्वजनिक जग्गा संरक्षणका लागि कुनै चासो नदिएको स्थानीयको आरोप छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६