लहान । कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट २ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर ३२ वाई २६९५ नम्बरको स्कुटीलाई शंका लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको हो ।
जाँच गरेपछि कस्तुरीको बीना बरामद भएकाले दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गण सिरहाका प्रमुख प्रवीण कँडेलले जानकारी दिए । बरामद बीनासहित पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाइएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६