खाेटाङ । वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङका ५ युवा २ महिनादेखि अलपत्र छन् । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका युवराज तामाङ, तारामान तामाङ, रामकुमार तामाङ, करणबहादुर तामाङ र सन्जिप तामाङ २ महिनादेखि अलपत्र परेका हुन् ।
६ महिनाअघि कतारको राजधानी दोहास्थित त्रिपलयाक्स कन्ट्रयाक्टिङ एन्ड सर्भिसेस कम्पनीमा पुर्याइएका आफूहरुलाई सो कम्पनीले तोकिएको काम र तलब नदिएपछि अलपत्र परेको पीडित युवराजले बताए । ४ महिनासम्म लेबरको काम लगायो , उनले भने, कम्पनीले सम्झौताविपरीत काम लगाए पनि तलबसमेत नदिएको र अहिले मेनोफ्युज सप्लाइ कम्पनीले भने खान र बस्न दिएर राखेको छ ।
काठमाडौँको धुम्बाराहीस्थित टाईगर ओभरसिस म्यानपावर कम्पनीमा प्रतिव्यक्ति ८० हजार रुपैयाँ बुझाएर उनीहरु कतार पुगेको पीडित युवराजका दाजु राजकुमार तामाङले बताए । इलेक्ट्रिसियनको काम भनेर म्यानपावर कम्पनीले सम्झौतापत्र देखाएपछि मैले नै सबैजनाको धरौटीबापतको रकम बुझाएको थिएँ , उनले भने, कतार पुर्याएपछि ४ महिना लेबरको काम दियो र मासिक १ हजार १ सय तलब दिने सम्झौता भए पनि उनीहरुले अहिलेसम्म एक पैसा पनि पाएका छैनन् ।
४ महिनासम्म कम्पनीले तलब नदिएपछि दोहास्थित लेबरकोटमा उजुरी दिँदासमेत कुनै सुनुवाइ नभएको अलपत्र परेका युवाको गुनासो थियो । २ महिनादेखि काम र सुरुदेखि नै दाम नपाएर अलपत्र बनेका आफूहरूललाई उद्धार गरेर नेपाल फर्काउन उनीहरुले सम्बन्धित निकायमा गुहार मागिरहेका छन् ।
उनीहरुलाई कतार पठाउने धुम्बाराहीस्थित टाइगर ओभरसिज म्यानपावर कम्पनी अहिले बन्द रहेको पीडितका दाजु राजकुमारले बताए । विसं २०७५ फागुन १४ मा प्रवेशाज्ञाा आएको देखाउँदै धरौटी रकम बुझेर ४ महिनापछि जेठ २३ गते उडायो , उनले भने, अहिले उनीहरू बसुन्धारामा राप्ती म्यानपावर कम्पनी खोलेर बसेका छन् ।
उता म्यानपावर कम्पनीका प्रबन्ध निर्देशक गोविन्द शिवाकोटीले भने उनीहरुले बिना कारण काम छाडेर बसेको बताए । उनीहरुले कम्पनीसँग लेबरमै सम्झौता गरेर कतार गएका हुन् , उनले भने, अहिले काम छाडेर बसेका रहेछन् । सम्झौताअनुसारको काममा फर्किएमा वातावरण बनाउन सकिन्छ ।
टिकट र प्रवेशाज्ञा निःशुल्क भए पनि सो म्यानपावर कम्पनीले उनीहरुलाई प्रतिव्यक्ति ८० हजार रुपैयाँ रकम असुलेको र अधिकांश व्यक्तिसँग पनि यसैगरी धरौटीको नाममा रकम असुल्ने गरेको पीडितहरूको गुनासो थियो ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६