शरद शर्मा
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब १५ सय प्राध्यापक बर्सेनि अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ ।
त्रिविको स्वीकृति लिएर प्राध्यापकले बर्सेनि अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिए ।
निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि पढाउन पाउने व्यवस्था छ । सोहीअनुसार बर्सेनि त्रिविका आंगिक क्याम्पसअन्तर्गतका प्राध्यापकले बाहिरका क्याम्पस तथा कलेजमा पढाउन पाउने गर्दछन् ।
बाहिर पढाउनका लागि स्थायी र करार प्राध्यापकले निर्देशनालयमा निवेदन दिनुपर्ने छ र निर्देशनालयले निवेदन हेरेर पढाउनका लागि स्वीकृति दिने गर्दछ । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ हजार ३ सय ५८ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएका छन् भने आव २०७४/०७५ मा १ हजार ४ सय १७ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएका थिए । विनियमअनुसार प्राध्यापकले क्याम्पसलाई कुनै असर नपर्ने गरी अन्यन्त्र पढाउन पाउँछन् , उनले भने, हामीले प्राध्यापकबाट आएका निवेदन हेरी ती प्राध्यापकलाई अयन्त्रका लागि पढाउन स्वीकृति दिने गर्दछौँ ।
त्रिविको नाम, निजीमा काम, दिमागमा दाम हुनाले त्रिविको गुणस्तर खस्कँदै गएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा एउटै सिफ्टमा २–३ तिर पढाउनेहरू पनि भेटिएको उल्लेख छ । करिब १८ प्रतिशत प्राध्यापकले अनुमति लिएर अन्यत्र पढाइरहेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । अनुमति नलिई निजीतिर धाउनेको संख्या प्रशस्तै छ । गैरसरकारी संस्थामा कन्सल्टेन्सी गर्नेहरू अध्ययनका विषय बनेका छैनन् ।
लोगो विश्वविद्यालयको लगाएर त्यही लोगो बेच्दै तन, मन र ऊर्जा अन्यत्र खर्च गर्ने र सार्वजनिक शिक्षामा प्वाल पार्ने धमिरे प्रवृत्ति मौलाएको छ । त्रिविमा पूर्णकालीन करिब ८ हजार प्राध्यापक छन् । उनका अनुसार विनियमअनुसार नआएका निवेदनलाई भने त्रिविले स्वीकृति दिने छैन ।
त्रिविले आव २०७५/०७६ मा १४ जना र आव २०७४/०७५ मा ११ जना प्राध्यापकलाई स्वीकृत दिएको थिएन । ती पदाधिकारी भएकाले अध्यापनका लागि स्वीकृत नदिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिए ।
त्रिविले पदाधिकारी भनी उल्लेख गरिएका पदका प्राध्यापकलाई भने अयन्त्र पढाउनका लागि पूर्व स्वीकृत दिने गरेको छैन । त्रिविका पदाधिकारी, विभागका डीन, सहायक डिन, निर्देशनालयका निर्देशक, उपनिर्देशक, परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई पदाधिकारी भनी व्याख्या गरिएको छ ।
विशिष्ट चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइने
यसैगरी त्रिविको पदाधिकारी भए पनि चिकित्सा सेवाका विशेषज्ञ चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइनेबारेमा छलफल भएको कार्यकारी निर्देशन खनालले जानकारी दिए ।
त्रिविको शिक्षण अस्पतालमा मात्र कुनै एक मात्र विशेषज्ञ चिकित्सक छन् भने मानवीय संवेदनशीलतालाई हेरेर अन्यन्त्र काम गर्न दिइने भन्नेबारे प्रस्ताव आएको छ , उनले भने, छलफल गरेर हामीले यस्ता विशेषज्ञ चिकित्सकलाई अयन्त्र काम गर्न दिने सोचमा रहेका छौँ । त्रिविका ६१ आंगिक क्याम्पस, ३९ निकाय, ९ डिन कार्यालय, ४ वटा अनुसन्धान विभाग छन् । यस आवमा पनि त्रिविले सूचना प्रकाशित गरी अयन्त्र पढाउनका लागि प्राध्यापकलाई निवेदन माग गरेको छ ।
निर्देशनालयका उपनिर्देशक ओम बरालका अनुसार अहिलेसम्म करिब ५ सय प्राध्यापकले अयन्त्र पढाउनका लागि निवेदन दिएका छन् । त्रिविले साउनदेखि मंसिर मसान्तसम्म निवेदन माग गरेको छ । यसैगरी त्रिविले स्वीकृत नलिएर पढाउने २० जना कारबाहीका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिए ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६