काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ ।
प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो । राजधानी दैनिकमा खबर छ ।
उच्चस्रोतका अनुसार त्यसको केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक दाङ तथा रोल्पा आसपासको सीमामा बसेको थियो । जहाँ विप्लवसहित २८ जना केन्द्रीय नेताहरू सहभागी थिए । तर, त्यसपछि दाङमा बसेको राप्ती ब्युरोको बैठकमा भने विप्लव सहभागी थिएनन् ।
केन्द्रीय समिति बैठकमा सहभागी भएका विप्लव राप्ती ब्युरोको बैठकमा समेत सहभागी हुने सूचना प्रहरीले पाएको थियो । तर, ब्युरोको कार्यक्रममा भने विप्लव सहभागी हुने तय भएको थिएन । प्रहरीले सो कार्यक्रमबाट विप्लवलाई नै पक्राउ गर्ने रणनीति बनाएको थियो । तर, कार्यक्रममा सहभागी नभएका कारण विप्लव प्रहरी टार्गेटमा परेनन् ।
प्रहरीको विशेष संयन्त्रले विप्लव नेता कार्यकर्ताले दाङ तथा रोल्पा आसपासमा ‘जनयुद्ध’को पुरानै बाटो प्रयोग गर्दै आएको सूचना पाएको छ । सोहीअनुसार रोल्पाबाट झर्दै गरेका नेकपाका नेताकार्यकर्तालाई प्रहरीले कुरेर बसेको थियो । प्रहरीले ब्युरोको बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना बनाउँदै गरेको महŒवपूर्ण राजनीतिक दस्ताबेजसमेत फेला पारेको छ । यसैगरी, राप्ती ब्युरोको पहलमा राप्ती अञ्चलबाट १ करोड रुपैयाँ चन्दा संकलन गरिएको विवरणसहितका महŒवपूर्ण कागजातसमेत प्रहरीले फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी तथा प्रवक्ता विनोदविक्रम शाहले दाङ प्रहरीले विप्लव नेतृत्वको नेकपाको बैठक हुँदै छ भन्ने सूचना पाएपछि बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरिएको बताए । तर, बैठकमा कोको सहभागी थिए भन्नेबारे भने पक्राउ गरिनुपूर्व जानकारी नभएको उनले जानकारी दिए ।
‘हामीलाई बैठक भइरहेको भन्ने सूचना आएको थियो तर कोको सहभागी थिए भन्ने जानकारी थिएन,’ प्रवक्तासमेत रहेका डीएसपी शाहले भने, ‘उनीहरूको साथबाट प्रहरीले सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना बनाउँदै गरेको महŒवपूर्ण राजनीतिक दस्तावेज फेला पारेको छ ।’
प्रतिबन्धपछि सो समूहले भूमिगत शैलीमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । प्रहरीले प्रतिबन्ध यता सोमबारसम्म नेकपाका ९ सय ३४ जना विभिन्न तहका नेता कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।
यस्तै, यसबीचमा ८ सय ७७ वटा मुद्दा दर्ता भएको छ भने ५५ जना साधारण सोधपूछपछि छुटेका छन् । यसैगरी, ६ सय ८१ जना मुद्दा दर्ता भई छुटेका छन् भने ११२ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । यस्तै, ८६ जना अनुसन्धानकै क्रममा छन् । यसबीचमा करिब ६ दर्जनभन्दा बढी विप्लव निकट नेता कार्यकर्ता सत्तारूढ र अन्य पार्टीमा प्रवेश गरिसकेका छन् । यसैगरी, करिब दुई दर्जन जति नेता कार्यकर्ताले विज्ञप्ति निकालेरै स्वतन्त्र रूपमा रहेको जनाएका छन् भने केहीले भने प्रहरीले पक्राउ गरेपछि आत्मसमर्पण गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६