काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुशासन, सभ्यता र विकासको युगमा प्रवेश गरेको बताएका छन् ।
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म खुसी व्यक्त गर्दै सम्पूर्ण नेपालीहरूलाई बधाई दिन चाहन्छु, योजनाका हिसाबले, विकास र प्रविधिका हिसाबले हामी नयाँ युगमा प्रवेश गरेका छौं ।’
सुरुङ मार्गको प्रयोग नेपालमा पहिलो भएकाले यस प्रकारको विकासले देशलाई नयाँ फड्कोबाट अघि बढाउने प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै प्रकारका विकासका नयाँ अभ्यास गर्दै देशलाई विकासको गतिमा अघि बढाउने प्रधामन्त्री ओलीले प्रतिबद्धता जनाए ।
‘सरकार अब योजनाबद्ध ढंगले विकासका आधुनिक नमुना प्रयोग गर्दै अघि बढ्छ’, जति राम्रो काम गरे पनि कुरा काट्नेले कुरा काट्न नछोड्ने र सरकारले विकासको काम गर्न नछोड्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘कुरा काट्नेले अब त काम पनि काट्ने बानी बसाउने बेला आएको छ ।’
यो वर्ष इतिहासकै नमुनाको रुपमा विकासले तीव्रता लिएको बताए । यही वर्ष १ हजार ६ सय किलोमिटर बाटो कालोपत्रे सम्पन्न भएको, २ सय ४३ वटा पुल निर्माण भएको, ३ सय झोलुंगे पुल निर्माण भएको र १ सय २४ वटा तुइन हटाएकाले टुहुरा हुनुपर्ने र छोराछोरी गुमाएर सहाराविहीन हुनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोकको सहुलियत ऋण सहयोगमा साढे २ वर्ष अघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया सुरु भएको थियो । यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेमा नियोकले १६ अर्ब सहयोग गर्ने र ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने सिस्नेखोला सुरुङ मार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ भने धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि सुरु गरिने छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक सडक निर्माणका लागि शिलान्यास भएको हो । सुरुङ मार्गका लागि असोज ६ गते जापानस्थित हाजमा आन्दो कर्पोरेसनसँग सम्झौता भएको थियो । ४२ महिनामा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तस्विर: मुनाल केसी
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६