काठमाडाैं । नेपाल टेलिकमले यही कात्तिक १ गतेदेखि लागू हुनेगरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ ।
कम्पनीले यसअघि न्यूनतम ५१२ केबीपीएसदेखिमाथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकामा अब न्यूनतम २ एमबीपिएस क्षमतामा सेवा उपलब्ध गराउने भएको हो ।
यसअघि ११० एमबीपिएस ब्यान्डविथ रेन्जको महसुल दर प्रतिएमबीपिएस ४ हजार २ सय रुपैयाँ रहेकामा अब २ देखि २० एमबीपिएसको ब्यान्डविथ रेन्जको महसुल दर प्रति एमबीपिएस २ हजार ५ सय मात्र कायम गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी पहिले ११ देखि १०० एमबीपिएस ब्यान्डविथ रेन्जको प्रतिएमबीपिएस ४ हजारमा उपलब्ध गराइरहेकामा अब २१ देखि ५० एमबीपिएस ब्यान्डविथ रेन्जको प्रतिएमबीपिएस २ हजार ३ सय र ५१ देखि १०० एमबीपिएस रेन्जको प्रतिएमबीपिएस मात्र २ हजार १ सय मा उपलब्ध गराइने छ ।
पहिले १०० एमबीपिएस भन्दामाथिका लागि प्रतिएमबीपिएस ३ हजार ८ सय महसुल दर तोकिएकामा अब यो प्रतिएमबीपिएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुने छ । कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको जनाएको छ । टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ ।
यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैँ बराबर रहन्छ भने सो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ । लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिस सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ ।
मूलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालय तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाको सूचना, तथ्यांक तथा हिसाब अनलाइन गर्नुपर्ने संघसंस्था र कम्पनीका लागि यो सेवा निकै नै उपयोगी बनेको कम्पनीको भनाइ छ ।
मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६