कंगाेको राजधानी सहर किन्सासामा आइतबार बिहान सबेरै भएको बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
अंगोलाको सीमा क्षेत्रीय कंगाेली सहर लुफुतर्फबाट आइरहेको सो बस किन्सासा नजिकै दुर्घटनामा परेको थियो । राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएका कारण उत्पन्न समस्याबाट यो दुर्घटना हुन पुगेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।
दुर्घटनामा परेको सो बस सीमावर्ती सहर अंगोलाको लुफुबाट राष्ट्रिय राजमार्ग नम्बर १ किन्सासातर्फ जाँदै गरेको र आइतबार मध्यरात करिब १ बजे दुर्घटनामा परेको थियो ।
बस म्बान्जा नगन्गुु गाउँनजिकै सडकमा आई दुर्घटनामा परेको र त्यसमा आगलागि समेत भएको थियो । सो बसमा यात्रुहरुका अतिरिक्त इन्धन र मदिरा समेत रहेको अधिकारीहरुको भनाइ छ ।
बसमा भार बढी भएकोले दुर्घटनामा परेको र उक्त बसमा इन्धन तथा मदिरासमेत रहेकाले आगो लागेको उक्त क्षेत्रका प्रहरी अधिकारीहरुको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६