काठमाडौं । रुसमा सम्पन्न आठौं एसिया प्यासिफिक योङ साइन्टिस्ट कन्फ्रेन्समा सहभागी नेपाली युवा वैज्ञानिकहरुले २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्णसहित ३ पदक जितेका छन् ।
नेपालको तर्फबाट सहभागी विभिन्न कलेजका ९ विद्यार्थीमध्ये साउथ वेस्र्टन स्टेट कलेज बसुन्धाराका विद्यार्थी स्वराज सागर प्रधानले स्वर्णपदक जिते । प्रधानले २३ मुलुकका प्रतिस्पर्धीलाई जित्दै स्वर्ण हात पारेका हुन् । प्रधानले युज अफ माइक्रोस्याटेलाइट फर ग्लोबल कनेक्टिभिटी, हाई स्पिड ट्रान्समिसन एन्ड डाटा एनालाइसिस विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।
यस्तै अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौं मोडेल कलेजका ऋषिकुमार गुप्ताले कास्य पदक जित्न सफल भए ।
रुसमा यही अक्टोबर १४ देखि १९ सम्म आठौं एसिया प्यासिफिक युवा वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मलेन आयोजना भएको थियो । नेपाल पोलिमर इन्स्टिच्युट काठमाडौंको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका ९ नेपाली विद्यार्थी सहभागी भएका थिए ।
गत महिना नेपाल पोलिमर इन्स्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई उक्त सम्मेलनमा पठाइएको थियो ।
सम्मेलनबाट नेपाली वैज्ञानिकको टोली सोमबार स्वदेश फर्किएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६