काठमाडौं । नेपालकै पहिलाे सुरुङ मार्गकाे शिलान्यास गरिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–नौबिसे सुरूङ मार्गको शिलान्यास गरेका हुन् ।
सोमबार सुरुङ मार्गको काठमाडौंतर्फको प्वाइन्ट चन्द्रागिरि नगरपालिका–१ दहचोकमा भएको कार्यक्रममा शिलन्यास गरिएकाे हो।
देशको संघीय राजधानी काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा–नौबिसेको सिस्नेखोला सुरुङ मार्गको लम्बाइ २.६८८ किलोमिटर छ ।
काठमाडौंतर्फ मुआब्जा वितरण टुंगिएको भएपनि धादिङतर्फ बाँकी छ । व्यक्तिका नाममा रहेको जग्गामा समस्या नभए पनि गुठी र लालपुर्जा नभएको जग्गामा समस्या देखिएको बताइएको छ।
मुआब्जाका विषयमा निर्णय भएको र निवेदन आउने क्रममा रहेको छ। धादिङतर्फ सुरुङ मार्गका लागि १ सय ७ रोपनी जग्गामध्ये ४४ रोपलीको मात्र मुआब्जा दिनुपर्ने देखिएको आयोजनाको कार्यालयले जानकारी दिएको छ।
सुरुङ मार्गमा जापान सरकारको १६.६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकार ५.५३ अर्ब लगानी रहनेछ । जाइकाबाट प्राप्त हुने ऋणको ब्याज ०.०१ प्रतिशत हुनेछ । सुरुङ मार्ग ४२ महिनामा निर्माण सम्पन्न हुनेछ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६