काठमाडाैं । काठमाडाैंकाे चन्द्रागिरि नगरपालिकास्थित बलम्बुबासीले पुस्तौं प्रतीक्षापछि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । सरकारले २०२१ सालको नापीको समयमा साबिक बलम्बु गाउँ बिकास समितिको गाउँ ब्लकको रुपमा राखेको बलम्बु दे:पखामा पुन: नापी गरी सम्बन्धित जग्गा धनीलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरेको हो।
चन्द्रागिरि नगरपालिका वडा-१२, बलम्बुस्थित गाउँ ब्लक अर्थात दे:पखाका १ सय ११ जनाले जग्गा धनी लालपुर्जा प्राप्त गरेका हुन् । घर बनाएर बसे पनि जग्गाधनी पुर्जा विहीन बनेर बसेका बलम्बुका स्थानीयबासीले पुस्तौं प्रतीक्षापछि लालपुर्जा हात पारेका हुन् ।
सरकारले २०२१ सालमा नापीको समयमा घना बस्ती रहेको स्थान बलम्बुलाई ब्लक एरियाको रुपमा छोडिएकामा पुन: नापी गरेर जग्गाधनी प्रमाणपत्र दिन थालेपछि स्थानीयले आ-आफ्नो घर जग्गाको दर्ता प्रमाण पत्र पुर्जा पाएका हुन् ।
काठमाडौंको कलंकी मालपोत कार्यालयका नापी शाखा प्रमुख सुरेश जोशीले ब्लकमा राखिएका यस्ता जग्गा पुन: नापी गरेर पुर्जा वितरण गर्न सुरु गरिएको र यसै आर्थिक वर्षभित्र यस्ता सबैको बितरण सक्ने गरी काम अगाडी बढेको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका वडा-१२ का वडाध्यक्ष प्रकाश श्रेष्ठले आफू निर्वाचित भएदेखि नै यस कार्यमा एकाग्रह भएर लागेको र आज यस कार्यक्रमसम्म आउन चन्द्रागिरि नगरपालिकाबाट पनि पूर्णरुपमा सहयोग प्राप्त भएको बताएका छन् । बलम्बु गाउँ दे:पखा भित्रको २ सयभन्दा बढीको नापी भएर दर्ता प्रक्रिया टुङ्गिएको र बाँकी अन्य जग्गाको पनि छिट्टै पुर्जा वितरण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न साे कार्यक्रममा नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाको केन्द्रमा रहेको बलम्बुको विकासका लागि आफू सधैं लागिपरेको बताए । उनले चन्द्रागिरि नपाभित्र बलम्बु मात्र नभई अन्य वडाका निश्चित वडाबासीले पनि आ-आफ्नो जग्गाधनी दर्ता प्रमाण पत्र पाउन बाँकी छ ।
नगर प्रमुख गिरीले बलम्बुका लागि अबको प्रमुख आवश्यकता भनेको खानेपानीको सहज वितरण रहेकाे जनाए । निकट भविश्यमा नै एक घर एक धारा व्यवस्था गरिने पिन नगरप्रमुख गिरिले बताए ।
उक्त अवसरमा चन्द्रागिरि नगरपालिका-१२ बलम्बुका तर्फबाट वडाध्यक्ष प्रकाश श्रेष्ठले स्थानीय ७६ जना जेष्ठ नागरिकलाई न्यानो कपडा (ज्याकेट) सहित सम्मान गरेका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६