काठमाडौं । नक्कली नाेट छाप्ने मेसिनसहित ३ जनालाई प्रहरीले बौद्धबाट पक्राउ गरेको छ ।
दोलखाकाे मेलुङ घर भई बौद्धस्थित नयाँबस्ती बस्दै आएका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
उनीहरुले बौद्धस्थित नयाँबस्तीमा फ्ल्याट लिएर नक्कली नोट छाप्ने कारखाना सञ्चालन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।
महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुको छापाखाना खानतलासी गरेर नक्कली नोट छाप्ने मेसिन, रंगिन फोटोकपी मेसिन, कम्युटर, हिटर र पैसा बनाउन प्रयोग हुने कागज बरामद गरेको छ ।
छापिसकेको अवस्थामा उनीहरुको फ्ल्याटबाट १ हजार दरका ३४ थान नक्कली नोट समेत बरामद गरिएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी रमेश बहादुर सिंहले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, कात्तिक ४, २०७६