काठमाडाैं । सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग भाेलि सोमबार शिलान्यास गरिने भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङ मार्ग निर्माण प्रक्रिया सुरु भएको थियो । यसका लागि २२ अर्ब रुपैयाँ लाग्नेमा जाइकाले १६ अर्ब सहयोग गर्ने र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ ।
सोमबार अपरान्ह चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङ मार्ग शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको आयोजना निर्देशक श्यामप्रसाद खरेलले बताए ।
प्रवेश मार्गसहित ५.५६ किमी सुरुङ मार्ग निर्माणले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको रासससँगको कुराकानीमा जानकारी दिँदै उनले करिब ६ अर्ब रुपैयाँ प्रभावितलाई मुआब्जा वितरणमै खर्च हुने उल्लेख गरे । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको र हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको उनले जनाए ।
धादिङको धुनिवेशी नगरपालिका–९ का प्रभावितलाई मुआब्जा दिने निर्णय भइसकेको हुँदा छिटो वितरण प्रक्रिया पनि सुरु गरिने छ । ४ वर्षमा सुरुङ मार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
यसअघि जलविद्युत् र खानेपानी आयोजनाका लागि सुरुङ निर्माण भए पनि यातायात नै सञ्चालन हुने गरी पहिलोपटक मार्ग निर्माण हुन लागेको हो । उक्त मार्गमा २ वटा साना ‘फ्लाई ओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङ मार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो ।
सुरुङ मार्गका लागि असोज ६ गते जापानस्थित हाजमा आङदो कर्पोरेसनसँग सम्झौता भएको थियो । निर्माण कम्पनीले साढे ३ वर्षमा काम सक्ने छ । सुरुङ मार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण हुनेछ ।
सोही परियोजनाअन्तर्गत स्थानीय उत्पादन सङ्कलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६