काठमाडौं । यतिन्जेल गरेका कामको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने कामका बारेमा चर्चा गर्दै सामाजिक क्षेत्रमा स्थापित संस्था एकीकृत विकास समाज (आइडिएस) नेपालले आफ्नो १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
खानेपानी तथा वातावरणीय सरसफाइ एवं सीपमूलक कार्यक्रमलाई राष्ट्रियस्तरमा सञ्चालन गर्ने उद्देश्यसहित स्थापना भएको आइडिएस नेपालले हालसम्म नेपाल सरकार तथा विभिन्न दातृ संस्थाहरुको आर्थिक सहयोगमा विभिन्न लामा तथा छोटा अवधिका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । आइडिएस नेपालको सञ्चालन गरेका विद्यालय सरसफाइदेखि खानेपानीसम्बन्धी कार्यक्रम नमुना रुपमा सफल भएका छन् ।
साधारणसभामा देश खुला दिसामुक्त भएका सन्दर्भमा यसको सुरुआत आफ्नो पहलमा भएको आइडिएसले जानकारी समेत दिएको छ । सन् २००२ मा बाँकेको एउटा क्षेत्रबाट प्लान नेपालसँगको सहकार्यमा आइडिएसले नै खुला दिसामुक्त कार्यक्रम आरम्भ गरेको जानकारी गराइएको थियो ।
जलवायु परिवर्तन, हरित उद्यान, बन, सरसफाइ खानेपानीदेखि विकास निर्माणमा समेत आइडिएस नेपालले विगत २ दशकदेखि सरकारी र गैरसरकारी संस्थाहरुसँग निरन्तर सहकार्य गर्दै आएको छ ।
१९औँ साधारणसभाका प्रमुख अतिथि तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देवकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि आइडिएस नेपालले सहयोग गर्न सक्ने धारणा राखे । स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरुको योजना निर्माणमा समेत आइडिएस नेपालले सहयोग गर्न सक्ने धारणा व्यक्त गरे ।
साधारणसभामा संस्थाका सल्लाहकार सर्वराज खड्का, संस्थापक अध्यक्ष प्रभा पोखरेल, अध्यक्ष राजेन्द्र अधिकारी र कार्यकारी निर्देशक प्रकाश कोइरालाले आइडिएसले विगतमा गरेका काम र आगामी दिनमा संस्थाले गर्न सक्ने कार्यक्रमका बारेमा आआफ्ना धारणा राखेका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६