काठमाडौं: ‘निमुखालाई ऐन, ठूलाबडालाई चैन’ । न्याय तथा कानुन कार्यान्वयनमा यस्तै प्रचलन लामो समयदेखि देखिएको हो तर केही समययता ठूलाबडा पनि भकाभक कानुनको कठघरामा तानिन थालेका छन् । के अब परम्परागत उखान परिवर्तन हुने क्रममा छ ?
“कानुनका अगाडि सबै समान र कानुन कार्यान्वयनमा राजनीतिक हस्तक्षेप नहुने हो भने साना न ठूला, सबैलाई समान रूपमा कानुन लाग्छ”, एक जना उच्च प्रहरी अधिकारीको भनाइ छ, “एकपछि अर्को विशिष्ट व्यक्ति क्रमशः पक्राउ तथा अनुसन्धानमा तानिएपछि व्यवहारले नै यो प्रमाणित हुँदैछ ।”
विशेष गरी नयाँ अपराध संहिता–२०७५ कार्यान्वयनमा आइसकेपछि प्रहरीका लागि कानुन कार्यान्वयन अनिवार्य भएको छ । अपराध संहिता कार्यान्वयनका लागि अपराध ढाकछोप र मिलापत्र नभई कानुनी प्रक्रियामै लैजान अनिवार्य भएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल आमनागरिकमा समान ढङ्गले कानुन कार्यान्वयन गर्ने विषयमा सरकारले दृढ सङ्कल्प गरेसँगै त्यसको प्रभाव प्रहरीको कामकारबाहीमा पनि परेको बताउँछन्। “जहाँ कानुन आकर्षित हुन्छ, त्यहाँ प्रहरी क्रियाशील हुन्छ”, उनले थपे, “विकसित घटनाक्रमले यसको प्रमाण देखाइरहेको छ । ”
नयाँ अपराध संहिता लागू भएसंँगै अपराध अनुसन्धानका घटनामा वृद्धि भएको स्मरण गराउँदै उनले पीडितहरूमा न्याय पाइन्छ भन्ने विश्वास बढेको जानकारी दिए। “अपराध कसैले लुकाएर लुक्दैन, ढिलोचाँडो बाहिर आउँछ”, उनले भने, “पीडकले सजाय र पीडितले न्याय पाउने वातावरण बनेको छ । ” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६