काठमाडौं: २०६४ चैत २७ गते साँझ रौतहटको राजपुरमा भएको बम विस्फोटका जीवित घाइतेहरू रौतहट प्रहरीको सम्पर्कमा आएका छन्। बम विस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ। घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरूबाटै संकलन गरिसकेको जनाइएको छ।
अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि विस्फोटमा परेर घाइते भएका दुईजनाले प्रहरीसमक्ष बयान दिइसकेका छन्।
घाइतेमध्ये सर्लाहीका एकजनाले साबिती बयान दिएका छन्। स्रोतका अनुसार गाईबस्तु किनबेच गर्ने सर्लाहीका ती व्यक्ति बम विस्फोट भएको दिन घटनास्थलनजिकैको घरमा थिए।
बम बनाउने काम भइरहेको भन्नेबारे उनलाई कुनै जानकारी थिएन। विस्फोटपछि उनी गम्भीर घाइते भए। बमको छर्राले उनको भुँडीको छाला पुरै उछिट्टिएकाले आन्द्रा बाहिर निस्किएको थियो।
आफ्नै लुंगीले आन्द्रा बाँधेर तत्काल स्थानीय साहुको घरमा पुगेलगत्तै उनी बेहोस भएका थिए। साहुले उनलाई भारतको मोतीहारीमा तीन महिनासम्म राखेर उपचार गराएका थिए। १९ दिनपछि होसमा आएका ती व्यक्तिले प्रहरीलाई घटनाबारे साबिती बयान दिएका हुन्।
भारतमा उपचार गराएर उनी घर फर्के पनि हालसम्म पूर्ण रूपमा स्वस्थ भइसकेका छैनन्। भारतको मोतीहारीमा उपचार गराउन गएकै अस्पतालमा बम विस्फोटका अन्य केही घाइते पनि पुगेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६