प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ ।
लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगजस्तो महत्ववपूर्ण र संवेदनशील निकायमा फर्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएसँगै प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने खतरा बढेको छ । प्रदेश लोकसेवाको सदस्यमा नियुक्त भएकी पोख्रेल कुनै अध्ययन अनुसन्धानमा संलग्न छैनन् ।
प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा विपक्षी दलका नेताको हैसियतमा बलदेव शर्मा पोख्रेल सदस्य छन् । उनी नेपाली कांग्रेस सम्बद्ध हुन् । शर्माले आफ्नो पदको दुरुपयोग गरी आफ्नै बुहारीलाई लोकसेवा आयोगमा नियुक्ति दिलाएका हुन् ।
तीन जना सदस्य रहने सिफारिस समितिमा अर्का सदस्य प्रदेशसभाका सभामुख रहन्छन् । सिफारिस समितिले समेत राहेलको शैक्षिक योग्यता र अनुभवलाई सूक्ष्म रूपमा नहेरी नियुक्तिका लागि सिफारिस गरेपछि मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा रहेको सिफारिस समितिको क्षमतामाथि प्रश्न सिर्जना भएको छ । सिफारिस समितिका अर्का सदस्य सभामुख पूर्णबहादुर घर्ती छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३, २०७६