काठमाडौं: मितव्ययिता, सुशासन, स्वच्छताको अभियानमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री विदेश भ्रमणमा रमाउन थालेका छन् । धेरै मन्त्री एकैपटक विदेश जाँदा मन्त्रालयका महत्वपूर्ण नीतिगत कार्यसमेत प्रभावित भइरहेका छन् ।
यतिबेला पाँच मन्त्री, दुई मुख्यमन्त्रीसहित सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताहरू विदेश भ्रमणमा रहेका छन् । मन्त्रीकै विदेश भ्रमणले मितव्ययिता, सुशासन, स्वच्छता कायम गर्ने अभियानमा जुटेका प्रधानमन्त्री ओलीको सो अभियानसमेत प्रभावित हुन सक्ने देखिएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेको भए पनि विदेश भ्रमणलगायतका कारणले लक्ष्यसम्म पुग्न समस्या उत्पन्न हुने गरेको अधिकारीको भनाइ छ । एकैपटक बहुसंख्यक मन्त्रीहरू मन्त्रालयको काम नगरी विदेश भ्रमणमा निस्केपछि मन्त्रालयको काम सुस्त बनेका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल यतिबेला चीन भ्रमणमा रहेका छन् । चीनको विभिन्न सहरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बिहीबार पोखरेल त्यसतर्फ लागेका हुन् । चीनको हुवेई प्रान्तको उहान र बेइजिङमा हुने कार्यक्रममा उनी सहभागी हुँदै छन् ।
विश्व सैन्य खेलकुद प्रतियोगितमा शुक्रबार सहभागी भएर पोखरेल आइतबार र सोमबार बेइजिङमा हुने अन्य कार्यक्रममा सहभागी हुने बताइएको छ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा अर्याल पनि चीन भ्रमणमै रहेकी छन् । नेकपा नेतृ पम्पा भुसालसँगै मन्त्री अर्याल बेईजिङमा आयोजना हुने कार्यक्रमका लागि चीन गएकी हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६