काठमाडाैं । आर्थिक अभावका कारण पत्रकार अर्जुन बोहोराको उपचार प्रभावित भएको छ । मस्तिष्काघातका कारण गम्भीर बिरामी भई काठमाडौँ, बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत उनलाई खर्चको अभाव भएको हो ।
उनी यही असोज ११ गते बिरामी भएका थिए । बोल्न र हिँडडुल गर्न नसक्ने भएपछि बेहोस अवस्थामै आइतबार काठमाडौँ ल्याइएको हो । हुम्लाकाे सिमकोट गाउँपालिका– २ का २९ वर्षीय बोहराको पारिवारको आर्थिक अवस्थासमेत नाजुक छ ।
उनको परिवार र जिल्लाका पत्रकारले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । सदरमुकाम सिमकोटस्थित सामुदायिक रेडियो कर्णाली आवाजमा कार्यरत उन नेपाल पत्रकार महासंघ शाखा अध्यक्षसमेत हुन् ।
कमजोर आर्थिक अवस्थाका कारण सहयोगको खाँचो परेको अर्जुनका दाजु विष्णु बोहराले बताए । उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्य अवस्था सुधार भइरहे पनि अझै केही समय अस्पताल बस्नुपर्ने बताएको विष्णुले बताए । सघन उपचार कक्षमा उपचार भइरहेको उनको रगत परीक्षणका लागि भारत पठाइएको छ ।
विष्णुले कम्तीमा १५ लाख रुपैयाँ आवश्यक पर्ने बताए । घरबाट ल्याएको पैसा सकियो, दैनिक २० देखि ४० हजारसम्म अस्पतालमा बुझाउनुपर्छ , उनले भने, सहयोग जुटेको पैसा पनि सकिँदैछ, लामो समय सघन उपचार कक्षममै राख्नुपर्ने अवस्थाका कारण खर्च धेरै लाग्ने देखिएको छ ।
उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुकलाई अर्जुनका दाजु विष्णुको राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको खाता नम्बर ४१९०००४९२७१० मा बचत गर्न अपिल गरिएको छ ।
६ लाख रुपैयाँ संकलन
जिल्लाका पत्रकारले आफ्ना सहकर्मीको जीवनरक्षाका लागि आर्थिक सहयोग संकलन थालेका छन् । हुम्लाका क्रियाशील पत्रकार नवराज महतराका अनुसार हालसम्म करिब ६ लाख रुपैयाँ संकलन भइसकेको छ । उनले सामाजिक सञ्जालबाट समेत सहयोगको अभियान सञ्चालन गरिएको बताए ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गरेका छन् । पूर्वमन्त्री एवं सांसद जीवनबहादुर शाही र किर्डाक नेपालका गोविन्द शाहीले ३०/३० हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्यस्तै पत्रकार महासंघले २० हजार, ओदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले १० हजार, सिमकोट गाउँपालिका उपाध्यक्ष बली रावलले २० हजार सहयोग गरेका छन् । विभिन्न जिल्लाका पत्रकारबाट संस्थागत र व्यक्तिगतरुपमा सहयोग जुटिरहेको पत्रकार महतराले जानकारी दिए ।