जनकपुर । महोत्तरीको गौशाला सम्सी सडकखण्डमा टिपरले ठक्कर दिँदा आज बिहान बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सो सडकखण्डको सम्सी गाउँपालिका–२ पर्सामा बालुवा बोकेर गौशालाबाट सम्सीतिर जाँदै गरेको ज १ क ४६६ नम्बरको टिपरले ठक्कर दिँदा स्थानीय शेष कलिमका आठ वर्षीय छोरा शेष औकादको मृत्यु भएको हो ।
टिपर तीव्र गतिमा गइरहेका बेला अचानक बाटो काट्न खोजेका बालकको किचिएर घटनास्थलमै मृत्यु भएको हो । मृतक बालकको शव सडकमै राखेर क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले सो सडकखण्ड चक्काजाम गरेका छन् ।
यसैगरी महोत्तरीको महोत्तरी गाउँपालिका– ६ हरिगौरीगामा पोखरीमा डुबेर आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीया चाँदनीकुमारी बरही ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
बालिका ठाकुर साथीसँग घर नजिकैको पोखरीमा नुहाउन गएका बेला पानीभित्र पुगेपछि डुबेर मृत्यु भएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६