विद्यासुन्दर शाक्य काठमाडौँ महानगरपालिका वडा नं. २१ का दुई पटकसम्मका सफल अध्यक्ष हुन । उनी अहिले नेकपा एमालेको तर्फबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार बनेका छन । पार्टीभित्रका तीन शक्तिशाली अाकांक्षीलाइ समेत पछि पारेर टिकट लिन सफल शाक्य तीनै अाकांक्षाीलाइ अघिपछि लगाएर मतमाग्न व्यस्त छन । पार्टीको चुनावी घोषणापत्रको अलवा आफ्नो छुट्टै पतिवद्धतापत्र लिएर मतदाताको घरदैलोमा हिडिरहेका शाक्यसँग व्यस्ताताको बीचमा गरिएको केही कुराकानीको अंश ।
तपाईँले काठमाडौँको मेयरमा जित्ने आधार के–के छन् ?
नेकपा (एमाले)तल–तलसम्म संगठन निकै बलियो भएको पार्टी हो । काठमाडौँ महानगरपालिकाको सन्दर्भमा कुरा गर्ने हो भने सबै जताको घर–दैलोमा पुगेको जिउँदाको जन्ती र मर्दाको मलामी बनेको पार्टी पनि एमाले नै हो । सुख–दुःखमा साथ दिएको पार्टी पनि एमाले नै हो । अहिले एमाले महानगवासीका लागि एमाले स्पष्ट दृष्टिकोण, नीति, विचार, सिद्धान्त, कार्यक्रमले मात्र होइन आत्मीयरुपले पनि नजिक छ । त्यसैले उहाँहरु सबै काठमाडौँको मेयर विद्यासुन्दरलाई बनाउन चाहनुहुन्छ । त्यसैले विद्यासुन्दरले जित्ने सबै भन्दा बलियो आधार यही हो ।
मैले अघि पनि भने एमालेले लिएको राष्ट्रियताको स्पष्ट अडान, सामाजिक न्यायका क्षेत्रमा एमालेको गरेको काम, एमालेले लिएका नीति, विचार, सिद्धान्त र एमालेले महानगर विकासका लागि अघि सारेको कार्यक्रम अन्य सबै राजनीतिक दलहरुको भन्दा उत्कृष्ट छ । एमाले कसैका छोरी–बुहारी वा ज्वाईँलाई मेयर बनाउने योजना बोकेर चुनावी मैदानमा आएको छैन । काँग्रेस–माओवादीका साथीहरुले गरेको चुनावी तालमेल केका लागि हो भन्ने कुरा तपाईँहरुले स्पष्ट रुपमा बुझ्नु भएको छ । हामी छोरी–बुहारी वा ज्वाईँ होइन संवृद्ध नेपाल बनाउने, सबैले आहा भन्ने महानगर बनाउने योजनासहित चुनावी मैदानमा आएका छौँ । अहिले नेपालमा जहानीय राणाशासन छैन तर काँग्रेस–माओवादीले जहानीय शासन अझै बाँकी छ भन्ने झल्को दिने गरी चुनावी तालमेल गरेर आफ्ना छोरी–ज्वाईँलाई मेयर–उपमेयर बनाउनका लागि पार्टीमा योगदान गरेका, लामो अनुभव बटुलेका नेता–कार्यकर्तालाई पाखा लगाएका छन् । यो कुरा पनि आम जनताले राम्ररी बुझेका छन् भन्ने मैले ठानेको छु । देशभक्त र राष्ट्रियता कमजोर बनाउने गठबन्धनका पक्षमा नेपाली जनताले मतदान गर्नुहोला भन्ने मैले ठानेको छैन । यो हामीले चुनाव जित्ने अर्को वलियो आधार हो । मैले काठमाडौँमा मेयर जित्ने तेस्रो आधार भनेको म दुई–दुई पटक यही महानगरपालिकाका जनताबाट चुनिएको जनप्रतिनिधि हुँ । काठमाडौँको वडा २१ बाट म दुई पटक जनप्रतिनिधि भएँ ।
पहिलो पटक म वडा अध्यक्ष भएर गरेको कामको मूल्याङ्कन गरेर फेरि ०५४ सालमा भएको स्थानीय निर्वाचनमा जनताले मलाई भारी मतसहित विजयी गराउनु भयो । मैले त्यतिबेला पनि उहाँहरुले गरेको विश्वासलाई मर्न दिइन् । मेरो कामको मूल्याङ्कन गर्दै पार्टीले पनि मलाई विभिन्न जिम्मेवारी सुम्पिदैँ आएको छ । म दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । अहिले पनि म एमाले काठमाडौँ जिल्ला कमिटीको सचिवको हैसियतमा छु । महानगरमा मैले नेकपा (एमाले)का तर्फबाट महानगर राजनीतिक संयन्त्रको प्रतिनिधिका रुपमा लामो समयदेखि काम गर्दै आएको छु । यसले मलाई मलाई महानगर बुझ्न निकै सजिलो भएको छ । महानगरको विकास कसरी गर्ने, महानगर विकासमा के कुराको कमी छ । त्यो सबै मैले बुझेको छु । यो मेरो जित्ने अर्को आधार हो ।
चौथो आधार भनेको काँग्रेस–माओवादी गठबन्धन सरकारले नौ महिने सत्ता चलाउँदा गरेका एकपछि अर्को कमजोरीले जनता दिक्क भएका छन् । सरकार कहिले प्रहरी प्रमुखको विषयलाई लिएर त कहिले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर एकपछि अर्को वदनामी कमाउँदै आएको छ । सरकार सञ्चालन गरेको नौ महिना पूरा भएको छ । तर, अहिलेसम्म यो सरकारले जनतालाई उत्साहित हुने काम केही गर्न सकेको छैन । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला मृत अवस्थामा रहेका सपनालाई व्यूँझाउने काम गर्नुभएको थियो । नेपाली जनता संवृद्धिको सपना देख्न थालेका थिए । नेपाली जनताले देखेका सपना पूरा गर्न महानगरपालिकामा एमाले बाहेको नेतृत्व अहिले नेपाली जनताले कल्पना पनि गर्न सकेका छैनन् । यी सबै आधारले पनि काठमाडौँमा मात्रै होइन देशैभरी एमालेको विजयी सुनिश्ति छ भन्न ढुक्कले सकिन्छ ।
काँग्रेस र माओवादी केन्द्रबीच काठमाडौँ महानगरपालिकाको मेयर पदमा तालमेलको हल्ला छ, नीतिगत रुपमा त त्यो सम्भव नहोला भित्री रुपमा तालमेल भयो भने ?
पहिलो कुरा त काठमाडौँमा काँग्रेस–माओवादीबीच तालमेलको हल्ला मात्र हो । म आफैँ पनि काँग्रेस–माओवादीका साथीहरुसँग निरन्तर सम्पर्कमा छु । उहाँहरुले कुनै पनि हालतमा तामलेल नहुने भन्नुभएको छ । शीर्ष तहमा तालमेल भयो भने पनि स्थानीय कार्यकर्ताहरुले त्यसलाई अस्वीकार गर्ने चेतावनी दिदैँ आउनु भएको छ । अहिले जसरी केन्द्रबाटै काँग्रेस–माओवादीले काठमाडौँमा तालमेलको कुरा अघि बढाएको छ । यो एमालेका पक्षमा देखिएको जनलहरबाट आत्तिएर हो भन्ने कुरामा कुनै दुईमत छैन । एमालेले काठमाडौँ महानगरपलिका कस्तो बनाउने भन्ने स्पष्ट योजनासहितको प्रतिवद्धतापत्र अहिले स्थानीय जनताको घर–दैलोमा पुर्याएको छ । हामी जहाँ–जहाँ योजना लिएर जनताको घरदैलोमा पुगेका छौँ । उहाँहरु सबैले उत्साह व्यक्त गरेको महशुस भएको छ । काँग्रेस–माओवादीले अहिलेसम्म पनि प्रतिवद्धतापत्र जनताको दैलोमा स्पष्ट रुपमा लिएर जान सकेको छैन । त्यसैले तालमेलको हल्लाले एमालेलाई होइन काँग्रेस–माओवादीलाई नै घाटा पुगेको छ । एमाले त्यसै पनि महानगरमा बलियो छ । अझ यो तालमेलको हल्लाले धेरै मतदाताको झुकाव एमालेप्रति बढेको मैले महशुस गरेको छु ।
तपाईँको प्रतिवद्धतापत्रमा उल्लेख गरिएका विकासका कार्यक्रमले जनता उत्साहित भएपछि काँग्रेस–माओवादी आत्तिएर तालमेलको चरणमा पुगेका भन्ने पनि छ नि ?
काँग्रेसले अहिलेसम्म पनि जनताका बीचमा कुनै घोषणपत्र वा प्रतिवद्धतापत्र लैजान सकेको छैन । काँग्रेस पार्टीकै घोषणापत्रलाई बोकेर अहिले काठमाडौँका मयेर हिड्नु भएको छ । यसले पनि कांग्रेस कतिसम्म अस्तव्यस्त पार्टी हो भन्ने कुराको प्रमाणित गर्दछ । काँग्रेसकै सन्दर्भको कुरा गर्ने हो भने पनि उसको आफ्नो छुट्टै भिजन नै छैन । एमालेले अघि सारेकै कार्यक्रमहरु काँग्रेसको घोषणापत्रमा छन् । यसकारण पनि हामी दावाका साथ भन्न सक्छौँ कि भिजन भएको, महानगरलाई महानगर बनाउने सपना बोकेको पार्टी एमाले नै हो । अहिले हामी स्पष्ट योजनासहित जनताको घर–दैलोमा पुगेका छौँ । उहाँहरुले पनि खुलेर एमालेको पक्षमा समर्थन जनाउनु भएको छ । यसले हामी थप उत्साहित भएका छौँ ।
स्थानीयस्तरमा लोकप्रिय बनेका व्यक्तिहरुलाई नै वाइपास गरेर काँग्रेसले अन्य व्यक्तिलाई उठाउँदा एमालेकै उम्मेदवारलाई फाइदा भएको छ भनिन्छ नि ?
म आफैँले मलाई घाटा भयो नाफा भयो भनेर भन्ने भन्दा पनि सञ्चार माध्ययममा लामो समय काम गर्नुभएका तपाईहरु जस्ता सञ्चारकर्मी साथीहरुले बुझ्ने कुरा भयो । म चुनावी प्रचार–प्रसारका क्रममा जनताको घर–दैलोमा जाँदा स्थानीय निर्वाचनमा स्थानीय र स्थानीय स्तरमा लोकप्रिय भएको व्यक्तिलाई नै उठाएको भए हुन्थ्यो भन्ने खालका गुनासाहरु सुनिने गरेका छन् । यस्तो कुरालाई नेतृत्वले पनि ख्याल पुर्याउनु पर्छ भनेर स्थानीय जनताले गुनासो गर्नु स्वाभाविक हो ।
एमालेले काठमाडौँमा उपमेयर महिलालाई नदिई राप्रपासँग तालमेल गरी उसैलाई दिइपछि एमाले भित्रका महिलाहरु रुष्ट भएका छन् भन्ने काँग्रेस–माओवादीको आरोप छ नि ?
इतिहासमा पहिलो पटक नेपाली जनताले महिला प्रधानन्यायाधीश पाएका थिए । तर, काँग्रेस र माओवादीलाई त्यो कुराको चित्त बुझेन । उनीहरुले अपमानित ढंगले उहाँमाथि महाअभियोगको प्रस्ताव ल्याएर आम नेपाली महिलामाथि अपमान गरे । शुक्रवार मात्रै नयायधीश चोलेन्द्र सम्शेर जबराको एकल इजालसले उहाँलाई काममा फर्किनु भनेर फैसला गरेपछि फेरि काँग्रेस–माओवादीका साथीहरु आत्तिएर विभिन्न खाले हर्कतमा जुटेका छन् । यसरी महिला प्रधानन्यायाधीशलाई अपमानित ढंगले हटाउने साथीहरुले यो गलत हो भनेर लड्ने एमालेलाई महिला विरोधी भनेर आरोप लगाउन मिल्छ ? म काँग्रेस–माओवादीका साथीहरुलाई स्मरण गराउन चाहन्छु । महिला शसक्तिकरण र सामाजिक न्यायका लागि एमाले जति अरु कुनै पनि पार्टी लडेका छैनन् । सबै स्थानीय तहमा मेयर वा उपमेयर मध्ये एक महिला अनिवार्य गर्ने व्यवस्था एमालेलेकै पहलमा भएको हो । महिला राष्ट्रपति र महिला सभामुख एमालेकै पालामा भएको हो, त्यो कुराको पनि हामी स्मरण उहाँहरुलाई गराउन चाहन्छौँ । अहिले कुनै नेताका छोरी–बुहारीलाई मेयर बनाउन अप्राकृतिक गठबन्धन गर्ने साथीहरुले हामी महिलामैत्री हौँ भनेर गर्व नगर्दा हुन्छ । उहाँहरुले महिला होइन, नेताका छोरी–बुहारीलाई प्राथमिकता दिनुभएको छ । हामीले संगठनमा काम गरेका, अनुभव भएका महिलाई प्रथामिकता दिएका छौँ ।
अहिलेसम्म चुनाव प्रचार–प्रशारका क्रममा तपाईँले के–कस्ता प्रतिवद्धता लिएर जनताका बीचमा जानु भएको छ ?
मैले जनतालाई म काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भएपछि पाँच वर्षमा यो सहर दक्षिण एसियाकै सबैभन्दा बसोबास गर्न लायकको सहर हुनेछ । पाँच वर्षभित्र यस सहरलाई शिक्षा, व्यवसाय तथा विभिन्न अवसरहरु प्राप्त हुने र गर्व गर्न लायक सहरका रुपमा विकास गर्ने छु । महानगरका वासिन्दा म मेयर भएको पाँच वर्षमा एक आपसमा हातेमालो गर्दै समुदायलाई सशक्तिकरण गरेर व्यवसाय गर्ने र आनन्दको जीवन विताउन सक्ने हुनेछन् । म मेयर निर्वाचति भएपछि काठमाडौँलाई एक दिगो सहरका रुपमा विकास गर्नेछु । जहाँ हरित पूर्वाधार, सहरी कृषि, बैकल्पिक यातायात लगायत रहनेछन् । नवीन सोचका साथ यी योजनाहरुलाई अघि बढाउने छु ।
भूकम्पपछि ध्वस्त भएको पूनःनिर्माणमा तपाईँको योजना के–छ ?
‘व्युल्ड व्याक वेटर’को अवधारणाबाट भूकम्प पुनःनिर्माण को योजना अनुरुप भूकम्पबाट क्षति भएका भौतिक संरचनालाई पहिलाको भन्दा अझ अत्याधुनिक र नयाँ ढंगले निर्माण गरिने छ । त्यसका ‘वल्ड हेरिटेज सिटी’ लागि भित्रि काठमाडौँलाई ‘रिभाई र रिग्रेट’ गरिने छ । यो योजनालाई पनि मैले प्राथमिकतामा राखेको छु । यस्ता थुप्रै योजना छन् । जसले भूकम्पपछि थिलथिलो भएको महानगरपालिका जुरुक्क उठ्ने छ ।
आर्थिक विकासका पनि त केही योजना होलान नि ?
ड्डअवश्य, म मेयर भएपछि आर्थिक तथा सामाजिक न्यायमा आधारित नमुना शहर बनाउने छु । काठमाडौँ र सहरलाई सहयोग गर्ने वा लगानी गर्नेलाई आकर्षित तथा व्यापारमैत्री बाताबरण बनाउने छ । अहिले दैनिक हजारौँ युवा वैदेशिक रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता छ । म त्यसलाई कम गराउने समय सापेक्ष रोजगारमूलक वातावरण निर्माण गर्नेछु । युवाहरुका लागि रोजगारमूलक तालिम दिने र ठाउँ–ठाउँमा अनलाइन रोजगार सूचना केन्द्रको व्यवस्था गर्नेछु । त्यसैगरी मझौला व्ववसाय तथा साना व्यवसाय सुरु गर्नेहरुलाई (स्टार्ट अफ) लगानीमैत्री विनियमहरु बनाइने छ । सहरका मुख्य–मुख्य केन्द्रमा (इन्टरपेनर हव) को स्थापना गर्नेछु । काठमाडौँवासीका केही सपनाहरु छन् । ती सपनासँग म नजिकबाट साक्षात्कार छु । महानगरवासीका सपनालाई मैले नजिकबाट स्पर्श गरेको छु, राम्ररी बुझेको छु । सुन्दर, शान्त महानगर यहाँका जनताको मात्र होइन मेरो पनि सपना हो । यो सपना गफ गरेर मात्र पूरा हुँदैन । फेसबुकमा हावादारी सपना बांडेर मात्र सफल हुंदैन त्यसका लागि काम गर्नुपर्छ । काम गर्न कार्यान्वय गर्न सक्ने ‘भिजन’ चाहिन्छ । त्यो भिजन मसँग छ ।
अहिले महानगरभित्र रहेको अस्तव्यस्त यातायात सबैको टाउको दुखाई बनेको छ । यसलाई व्यवस्थित तथा आधुनिकीकरण गर्नुपर्दछ । नयाँ प्रविधियुक्त यातायात पद्धति स्थापनाका लागि मैले जोड दिनेछु । महानगरमा केवलकार, मोनोरेल, तथाअत्याधुनिक बससेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरु संचालनमा ल्याइनेछ । त्यसैगरी काठमाडौंलाई ‘स्मार्ट सिटी’का रुपमा विकास गरिनेछ । स्मार्ट सिटीको पूर्वाधार तयार गर्नकालागि महानगरीय ‘ब्रोडव्याण्ड नेटवर्क’ स्थापना गर्नेछु । महानगरको नागरिक हुनुमा गौरवान्वित महसुस हुने गरी र जनतालाई सुलभ तथा द्रुत सेवा प्रदान गर्नका लागि ‘महानगर स्मार्ट सिटिजन कार्ड’को व्यवस्था गर्नेछु । महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सर्पोटेशन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउने छु । त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेट भन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को व्यवस्था गर्नेछु । त्यसैगरी साइकल लेनको निर्माण गरिनेछ । साइकल चढ्नेलाई विशेष सुविधा उपलब्ध गराइनेछ । ठाउँ–ठाउँमा साइकल पार्किङ स्टेशन निर्माण गर्नेछु । काठमाडौँ महानगरभित्र ‘स्मार्ट पार्किड सिष्टम’को व्यवस्था गर्नेछु । विभिन्न ठाउँमा स्वचालित ‘भर्टिकलकार पार्किङ र अण्डरग्राउण्ड पार्किङ सिष्टम’को व्यवस्था गर्नेछु । स्थानीय तथा आगन्तुकहरुको लागि ठुला होटेल रेस्टुराँ, सपिङ मलहरु, डे र नाइट मार्केटहरु ठाउँ–ठाँउंमा स्थापना गर्नेछु्र ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०७४