युरोपको शीर्ष डिभिजनको लिगमा गत सिजन सर्वाधिक गोल गरेका लियोनल मेस्सीले छैटौं पटक गोल्डेन बुट जितेका छन् । बार्सिलोनाका सुपर स्टारले २०१८/१९ को सिजनमा ३६ गोल गरेका थिए ।
उनले गोल्डेन बुट जितेको यो लगातार तेस्रो पटक हो । पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेलाई ३ गोलले पछि पार्दै मेस्सीले गोल्डेन बुट प्राप्त गरेका हुन् । ३२ वर्षे स्टार गोल्डेन बुट लिनका लागि श्रीमति एन्टोनेला रोकुवा तथा छोराहरु थिएगो र माटेउका साथ स्टेजमा गएका थिए ।
उनले गत वर्ष ३४ र २०१६/१७ को सिजनमा ३७ गोल गरेका थिए । अर्जेन्टिनी सुपर स्टालले गोल्डेन बुट पहिलो पटक २००९/१० को सिजनमा जितेका थिए । त्यति बेला उनले ३४ गोल गरेका थिए । त्यसपछि सन् २०११/१२ मा सर्वाधिक ५० गोल र अर्को वर्ष ४६ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०७६