काठमाडौं: फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत दोस्रो चरणको चौथो खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ ।
पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । जोर्डनले पहिलो गोल ५६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको थियो । दिनेश राजवंशीले पेनाल्टी क्षेत्रभित्र विपक्षीलाई लडाएपछि प्राप्त पेनाल्टीमा फेरास सेल्बाए चुकेनन् ।
खेलको ७८ औं मिनेटमा अहमद अल-एर्सानले चिप प्रहारमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । खेल सकिन २ मिनेट बाँकी रहँदा बाहा फैसलले हेडरमार्फत गोल गर्दै जोर्डनको जित सुनिश्चित गरे ।
नेपालको छनोट यात्रामा यो तेस्रो हार हो । नेपालले ४ खेलमा १ जित र ३ हारसहित ३ अंक जोडेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०७६