सत्तारुढ र प्रतिपक्षी दलबीचको सम्बन्ध चिसिँदै गएका बेला नेताहरूले भने सहकार्यमा जोड दिएका छन्।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले बर्सेनि कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले राजनीतिक विमतिबीच पनि सहकार्यको आवश्यकता औंल्याएका हुन्। उनीहरूले विगतमा दलबीच चरम मतभेद हुँदा पनि छलफलबाटै सहमतिमा पुगिने गरेको प्रसंग उल्लेख गरेका थिए।
प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रका लागि सत्तारुढ दल र कांग्रेस प्रतिबद्ध रहेको बताए। उनले कांग्रेसका नेतासँग दशकौं पुरानो मित्रता रहेको भन्दै आगामी दिनमा पनि लोकतन्त्र रक्षार्थ सँगै अगाडि बढ्ने बताए।
‘४५ वर्षदेखि शेरबहादुर देउवाजीसँग मेरो मित्रता छ। हामी सँगै जेल बस्यौं। लोकतन्त्रका लागि सँगै लड्यौं। रामचन्द्र जी, रामशरण महतजीसँग पनि उहिलेदेखिकै सम्बन्ध हो। हामीसँगै जेलदेखि आन्दोलनमा लडेका छौं,’ उनले भने, ‘लोकतन्त्रका लागि सबै लड्न र यसलाई तल–माथि हुन नदिन हामी प्रतिबद्ध छौं।’
उनले कांग्रेसले प्रत्येक वर्ष आयोजना गर्ने चियापान कार्यक्रमको निरन्तरता आवश्यकतामा जोड दिए। ‘कांग्रेसले जे गरेको छ, राम्रो गरेको छ। कांग्रेसका सबै मित्रलाई जय नेपाल,’ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६