चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपालको दुईदिने राजकीय भ्रमणलाई नेपाली पक्ष भौतिक पूर्वाधार र विकास निर्माणमा सदुपयोग गर्ने प्रयासमा छ ।
२३ वर्षपछि भएको चीनको उच्चस्तरीय भ्रमणलाई नेपाल रेलमार्गदेखि सडकमार्गसम्म उपयोग गर्ने प्रयासमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार साँझ काठमाडौं ओर्लिएका छन् ।
चिनियाँ राष्ट्रपतिको यो भ्रमण विगत २३ वर्षपछि भएको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।सीको भ्रमणमा नेपालले थुप्रै भौतिक पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित परियोजनालाई अघि सार्ने तयारी गरेको छ ।
नेपालले केही समययता निकै चर्चा र आशाको शिखरमा रहेको केरुङ–काठमाडौं रेल्वेको लगानी ढाँचाबारे छलफलको तयारी गरेको छ । चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकोमा नेपालले सो रेलमार्गलाई केरुङ–काठमाडौं हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।
रेलमार्ग निर्माणको मोडालिटीको विषयमा आइतबार (आज) चिनियाँ पक्ष र नेपाल पक्षबीच छलफल भएपछि मात्र सम्झौता हुनेछ । नेपालले ८० प्रतिशतसम्म अनुदानमा रेलमार्ग निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरेको छ ।
सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने वार्तामा रेलमार्गबारे छलफल हुनेछ । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मंसिरमा बुझाएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६