नेपाल र चीनबीचको दुई महत्वपूर्ण नाकामध्ये तातोपानी नाकामा सुक्खा बन्दरगाह निर्माण भई सञ्चालनमा आइसकेको छ भने रसुवागढीमा निर्माण कार्य सुरु भएको छ।
अत्याधुनिक सुविधासहितको तातोपानी नाकाभन्दा कुल ६ किलोमिटर तल लार्चामा निर्माण भएको सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारलाई थप सहज बनाएको छ ।
यस्तै, आगामी ३० महिनाभित्र रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण सक्ने लक्ष्य राखिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
गोरखा भूकम्पको त्रासदीपछि करिब ४ वर्ष बन्द भएको तातोपानी नाका गत जेठदेखि सञ्चालनमा आयो । सो नाका सञ्चालनमा ल्याउन नेपालले गरेको आग्रहलाई स्वीकार गर्दै चीनले दुई देशबीचको व्यापार तथा वाणिज्यको विस्तारमा सहयोग गर्यो ।
दुई देशबीचको मैत्री सम्बन्धको परिचयका रूपमा स्थापित रहेको अरनिको राजमार्गसमेत चिनियाँ सहयोगमा नै निर्माण भएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि हुन लागेको दुई दिवसीय नेपाल भ्रमणका क्रममा समेत सो राजमार्गको स्तरोन्नतिलगायतका विषयसमेत समावेश भएको जनाइएको छ ।
सो सडक विस्तार र स्तरोन्नति भएपछि दुई देशबीचको सम्बन्ध, आर्थिक विकास र विस्तारमा समेत थप नयाँ आयाम स्थापित हुने विश्वास लिइएको छ।
सोही नाका खुलेपछि क्रमशः दुई देशीय व्यापारमा नयाँ आयाम थपिएको छ । सोही नाकामा नै सुक्खा बन्दरगाहसमेत सञ्चालनमा आइसकेको छ । सुक्खा बन्दरगाहले दुई देशको व्यापार विस्तारका लागि सहज मात्रै बनाएको छैन । अत्याधुनिक सेवा सुविधासमेत पाएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६