काठमाडौं: विश्वकै एक नम्बर शक्तिशाली व्यक्तिका रूपमा रहेका चीनका राष्ट्रपति सी चिनफिङ यतिखेर नेपालको राजकीय भ्रमणमा छन् ।
सीको नेपाल भ्रमणले दुरगामी महत्व राख्ने र अब नेपालले विकासमा फड्को मार्न सक्ने विश्लेषण सर्वत्र गरिएको छ । चीन र नेपालबीच सम्भवतः आइतबार हुने ऐतिहासिक समझदारी नेपालको विकास र समृद्धिमा कोसेढुंगा साबित हुने विश्वास गरिएको छ ।
नेपालले चीनका राष्ट्रपति सीको भ्रमणका लागि लामो समयदेखि प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन । अहिले भने दुई तिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको अथक प्रयास र सबै राजनीतिक दलको सकारात्मक सहयोगका कारण लामो समयदेखिको सीलाई नेपाल भ्रमण गराएर विकास र समृद्धिको ढोका खोलाउने नेपाली प्रयासले सार्थकता पाएको छ ।
सीको नेपाल भ्रमणलाई राजनीतिको दोषी चस्माबाट नहेरी यसलाई आर्थिक विकासको महŒवपूर्ण पाटोका रूपमा हेरिनुपर्ने तर्क स्वतन्त्र विश्लेषकको छ । अहिले केही पक्षले सीको भ्रमणलाई राजनीतिक रङ दिइरहेका छन् तर त्यसरी राजनीतिक रङ दिन खोज्नेले मुलुकको विकास र प्रगतिलाई नै अवरुद्ध गर्न खोजेको बुझ्न कठिन छैन ।
जानकारका अनुसार यतिखेर चीनले संसारमै चामत्कारिक विकास गरिरहेको छ । सन् २०३० सम्ममा चीन विश्वमै आर्थिक विकासका दृष्टिले पनि एक नम्बर शक्तिशाली राष्ट्र बन्ने धुनमा छ । यसमा चीनको कम्युनिस्ट विचारधारा भन्दा पनि सीको आफ्नै विशिष्ट प्रकृतिको विकास मोडलले काम गरिरहेको देखिन्छ । सीको विकास मोडलबाट नेपालले पनि सहजै पाठ सिक्न सक्छ ।
सीको विश्वभरमै चर्चित पछिल्लो योजना भनेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत विश्वलाई एउटै मालामा उन्न खोज्नु हो । यसलाई सीको विश्व विकासको स्पष्ट मार्गचित्रका रूपमा लिइएको छ । यस अतिरिक्त सीले आफ्नै देशमा अपनाएका विकासका कार्यक्रम र गरिबी उन्मूलन कार्यक्रम नेपालका लागि बलियो मार्गचित्र बन्न सक्छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६