काठमाडौं: चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन्।
चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए।
‘मैले चिनियाँ भाषामा लेखेको ‘नमस्ते’ राम्रोसँग भन्न जानिनँ होला, सुनिएन होला,’ उनले भने, ‘नेपाल र चीनबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको छ।’ राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ–काठमाडौं सुरुङ मार्ग र रेल मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीसँग हुने दुईपक्षीय छलफलमा यसबारेमा थप स्पष्टता आउने पनि बताए।
हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार पनि अर्को पाटोको रूपमा हामीले व्याख्या गर्न सक्छौं भन्दै यसबाट दुवै मुलुक लाभान्वित हुने उनको धारणा थियो।
नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्षसम्म कुनै समस्या नभएको बताउँदै उनले भने, ‘शरद ऋतुमा नेपालमा सयौं फूल फुलेका छन्। यही मौसममा म पहिलोपटक काठमाडौंमा छु। यहाँ राजनीतिक स्थायित्व छ। पुराना र नयाँ मित्रहरू भेट्दै छु। म हर्षित छु र आशा जागेको छ।’
उनले सुविधाजनक र रणनीतिक सहकार्य, रेलमार्ग, अरनिको राजमार्गको विकास, सुरुङदेखि सडकमार्ग हुँदै काठमाडौं जोड्ने योजनालगायतले आफू खुशी भएको पनि बताए। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६