काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँ आइपुगेका छन् ।
नेपालको २ दिने भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे । उनीहरूलाई चिनियाँ विशिष्ट अतिथिको स्वागतमा पञ्चकन्याले साथ दिएका थिए ।
त्यसअघि राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् । विमानस्थलबाट राष्ट्रपति सी कडा सुरक्षा घेरामा साेल्टी हाेटल पुगेका छन् ।
चीनका राष्ट्रपति सीको काठमाडौँ आगमनसँगै उनको राजकीय भ्रमण प्रारम्भ भएको छ । विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।
नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
चिनियाँ राष्ट्रपति सीको नेपाल बसाइलाई आनन्ददायी बनाउन भव्य तयारी गरिएको छ । सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ । विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको छ ।
विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोसाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।
विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगरिएको छ । विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।
चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन् । विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायत स्थान चिटिक्क सिँगरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरङ्गी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको थियो भने ढकमक्क फुलेका फूलले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको थियो ।
राष्ट्रपति सीलाई विमानस्थलबाट उनलाई आतिथ्यता एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी सीबीच आजै राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता हुने छ भने चीनका राष्ट्रप्रमुखको सम्मानमा राष्ट्रपति भण्डारीले आजै साँझ राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो । चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन् । राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६