काठमाडाैं । मेलम्ची खानेपानी विकास समितिले मुहानस्थित ‘हेडवर्क्स’ निर्माणका लागि ठेक्का सम्झौता गरेको छ।
सुरुङको बाँकी काम गर्ने ठेक्का पाएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो नै ‘हेडवर्क्स’ निर्माणका लागि छनोट भएको समितिका सूचना अधिकारी वरिष्ठ डिभिजनल इञ्जिनीयर राजेन्द्रप्रसाद पन्तले राससलाई जानकारी दिए।
निर्माण कम्पनीले १५ महिनामा ‘हेडवर्क्स’को काम सक्ने गरी समय दिइएको उनले बताए । ‘हेडवर्क्स’ निर्माणको लागत १ अर्ब २ करोड रुपैयाँ हुने छ ।
कम्पनीले १५ दिनमा स्थलगत अध्ययन गरी काम शुरु गर्ने गरी ठेक्का सम्झौता भएको छ। इटालियन निर्माण कम्पनी सिएमसीले गत वर्ष काम छोडेर हिँडेपछि ठेक्का सम्झौता रद्द गरी सिनो हाइड्रोलाई नै सुरुङको बाँकी काम गर्ने गरी छनोट गरिएको थियो।
सुरुङको बाँकी कामका लागि भने रु ७५ करोडमा सम्झौता भएको छ। राजधानीमा बहुप्रतिक्षित मेलम्चीको पानी ल्याउने मिति पटकपटक सर्दै आएको छ। रासस
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६