काठमाडौं: चिनियाँ राष्ट्रपति सी चीनफिङ दुई दिने राजकीय भ्रमणको शिलसिलामा आज काठमाडौं आउदैछन्। परराष्ट्र मन्त्रालयका अनुसार दिउँसो चार बजे सी काठमाडौं आइपुग्ने छन्। शुक्रबार भारतको चेन्नई पुगेका सी त्यहीबाट काठमाडौं आउन लागेका हुन्। एक सयभन्दा बढी प्रतिनिधि मन्डलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने छन्।
विमास्थलमै पुगेर उनलाई स्वागत गरिने जनाइएको छ। आज उनले साढे ६ बजे राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने छन्। त्यसपछि उनी भण्डारीले उनको सम्मानमा दिने रात्रि भोजमा सहभागी हुने छन्।
यस्तै, आइतबार बिहान साढे दश बजे नेपाल–चीन उच्च स्तरिय प्रतिनिधि मण्डलको बैठकमा सहभागी हुने छन्। बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री ओलीले गर्नेछन्। बैठक सकिएपछि चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा आधा दर्जनभन्दा बढी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६