काठमाडाैं । सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका–१० मा आज बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो ।
७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य ७ जनाको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये ५ जनाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा गाडी दुर्घटना भएको हो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा कम्तीमा सात जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ५० भन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिए ।
क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुनसक्ने देखिन्छ । दुर्घटनामा घाइते धेरै भएको अनुमान छ । थप विवरण आउन बाँकी रहेको प्रनाउ काफ्लेले जानकारी दिए ।
दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने आचार्यले बताए । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उनले जानकारी दिए ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिए । छतमा समेत यात्रु भएकाले कम्तीमा पनि ७० बढी यात्रु बसमा रहेको नेपालले जानकारी दिए । हेलम्बु यातयातको सो बस कच्ची सडक र यात्रु बढी भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६