काठमाडौं: चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ । राष्ट्रपति सीको भ्रमणमा छलफल हुने प्रमुख एजेन्डामा केरुङ–काठमाडौं रेलमार्ग छ । भ्रमणकै क्रममा यो विषयमा सम्झौता गर्ने दुवै पक्षको तयारी छ ।
अहिलेसम्म भएको तयारीअनुसार रेल निर्माणका लागि मिश्रित मोडालिटीमा हस्ताक्षर हुनेछ । बुधबार अबेरसम्म भएको छलफलअनुसार चीनले अनुदान र ऋण दुवै दिनेछ भने नेपालले पनि लगानी गर्नेछ । चीनले करिब ५० प्रतिशत अनुदान र २५ प्रतिशत ऋण दिने तथा नेपालले २५ प्रतिशत लगानी गर्ने सहमति भएको छ । तर, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने एकान्त वार्तामा यससम्बन्धी ठोस मोडालिटी टुंगिनेछ । स्रोतका अनुसार नेपालले रेलमार्गमा ८० प्रतिशत अनुदानका लागि चीनसँग छलफल गरिरहेको छ । शीर्ष वार्तामा सहमति भए समझदारीपत्र आदानप्रदान हुनेछ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्ग निर्माणसम्बन्धी एजेन्डालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । ‘बढीमा लगानी मोडालिटीमा र कम्तीमा विस्तृत सम्भाव्यता अध्ययनमा समझदारी हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने । अध्ययनका लागि आवश्यक लागत चीनले बेहोर्नेसम्मको समझदारी हुन सक्छ ।
यसअघि २४ मंसिर ०७५ मा चिनियाँ राष्ट्रिय रेल्वे संस्थाको अध्ययन टोलीले गरेको पूर्वसम्भाव्यता अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग निर्माण चुनौतीपूर्ण भए पनि सम्भव रहेको देखाइसकेको छ । अध्ययनअनुसार नेपाली भू–भागमा मात्र रेलमार्गको लम्बाइ ७२ किलोमिटर रहनेछ । त्यस्तै, अन्तिम बिन्दु टोखा हुने सम्भाव्यता अध्ययनले देखाएको थियो । लागत भने तीन सय अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६