दमौली । चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ ।
यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारबाही गरिएको हो । ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीका अनुसार काठमाडौँदेखि पोखरा तथा मुग्लिङदेखि पोखरासम्म चल्ने बसका चालकले बढी भाडा लिएको गुनासो आएपछि कारबाही गरिएको हो ।
साविकभन्दा बढी भाडा लिएको पाइएपछि चालकलाई जनही १ हजार जरिवाना गरिएको हो , उनले भने ।
यस्तै काठमाडौँदेखि पोखरासम्म चल्ने माइक्रोबसका चालकले यात्रुको सामान छतमा राखेबापत १ हजारसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले ४ माइक्रो बसका चालकलाई कारबाही गरेको छ ।
चालकलाई जनही १ हजार ५ सय रुपैयाँ जरिवाना गरेका छौँ , उनले भने । चाडपर्वको बेला यात्रुको बाध्यतालाई चालकले मौकाको फाइदाका रुपमा लिँदै बढी भाडा असुल्ने गरेका छन् । बढी भाडा लिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरेर जानकारी गराउन अधिकारीले यात्रुलाई आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६