काठमाडौं । विश्वकप २०२२ को छनोट अन्तर्गत आज भएको खेलमा नेपाल अस्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको छ ।
क्यानबेरामा भएको खेलमा नेपालविरुद्ध घरेलु टिम अस्ट्रेलियाले पहिलो हाफमा ३ गोल गरेका थियाे भने दोस्रो हाफमा २ गोल थपेकाे हाे ।
खेलको छैठौं मिनेटमा नै अस्ट्रेलियाका जेमी म्याकलारनले गोल गरेका थिए । १९ औं मिनेटमा पुनः गोल गर्दै जेमीले अस्ट्रेलियाको अग्रतालाई दोब्बर बनाए । त्यस्तै खेलको २३ औं मिनेटमा ह्यारी साउटरले गोल गरे ।
नेपाली डिफेन्डरहरुसँग सजिलै खेलेका अस्ट्रेलियालीहरुले त्यसपछि केही मेहनत गर्नुपरेको थियो । पहिलो हाफको बाँकी समयमा भने थप गोल भएन ।
दोस्रो हाफको सुरुवातमा नेपालले राम्रै गरेपनि खेलको ५८ औं मिनेटमा ह्यारीले एक गोल थपे । खेलमा नेपाली स्ट्राइकरहरुले पनि गोलको लागि खासै मुभ बनाउन सकेनन् ।
खेलमा नेपाल ४–० ले पछि परेको नेपाल विरुद्ध ९० औं मिनेटमा एक गोल थप्दै अस्ट्रेलियाले गोल अन्तरलाई ५–० बनायो । साे गाेल पनि जेमीले नै गरेका थिए । याेसँगै उनकाे ह्याट्रिक पनि पूरा भएकाे थियाे ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६