काठमाडाैं । ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।
ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ । खेल दिउँसो सवा ३ बजे सुरु हुने छ ।
यसअघि ३ खेलमा नेपालले २ मा जित तथा एकमा हार व्योहोरेको छ । नेपालले पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको थियो भने नेदरल्यान्डलाई पनि समान ४ विकेटले नै पराजित गरेको थियो । त्यस्तै नेपाल आयरल्यान्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो ।
तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जित हात पार्दै सिरिज उपाधि कब्जा गर्न दाउमा छ । यसअघि ३ खेल खेलेको ओमनले ३ खेलमै जित हासिल गरेको छ । ओमनले आयरल्यान्ड, हङकङ र नेदरल्यान्डलाई पराजित गरेको थियो ।
प्रतियोगितामा ६ अङ्क जोडेको ओमन अङ्क तालिकाको शीर्ष स्थानमा छ भने ४ अङ्क जोडेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै ४ खेलमा ३ खेल जितेर ६ अङ्क नै बटुुलेको आयरल्यान्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने ३ खेलमा ३ खेल हारेको नेदरल्यान्ड चौथो तथा हङकङ पाँचौँ स्थानमा छ । नेदरल्यान्ड र हङकङ अङ्कविहीन छन् ।
उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्यान्ड्स भिड्दै छन् । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६